अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 04:44

२८ औँ संस्करणको क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा

बिआरटीनेपाल २०७९ माघ १२ गते ६:२७ मा प्रकाशित

कम्प्युटर एशोसिएशन नेपाल महासंघले २८ औँ संस्करणको क्यान इन्फोटेक माघ २३ गतेदेखि सञ्चालन गर्ने भएको छ । महासंघले बिहीवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।महासंघका अनुसार क्यान इन्फोटेक २०२३ माघ २३ गतेबाट २९ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा सञ्चालन हुनेछ । महासंघले क्यान महासंघले आयोजना गर्ने देशकै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कम्प्युटर एशोसिएशन नेपाल महासंघका महासचिव चिरञ्जीवी अधिकारीले यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर पे वेलमार्फत इन्फोटेकको टिकट खरिद गर्न सकिने बताउनु भयो ।उहाँले टिकटका लागि सर्वसाधारणका लागि १ सय र विद्यार्थीहरुका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको समेत बताउनु भयो । उहाँले प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित कम्पनीहरुको सहभागिता रहने बताउनु भयो ।

उहाँले यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गर्ने बताउनु भयो । उहाँले क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेण्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुने बताउनु भयो ।महासंघले इन्फोटेकका लागि हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको र यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाख मानिसले अवलोकन गर्ने अपेक्षा राखेको छ ।

महासंघले प्रदर्शनीले डिजिटल नेपालको अभियानलाई समेत सहयोग पुग्ने विश्वास राखेको छ । काठमाण्डौमा प्रदर्शनी सकिएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुने महासचिव अधिकारीले बताउनु भयो । उहाँकाअनुसार मधेस प्रदेशमा फागुन ५ देखि फागुन ९, सुदूरपश्चिममा फागुन १३ देखि फागुन १७, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३०, बाग्मती प्रदेशमा चैत्र २ देखि चैत्र ६ र प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै क्यान इन्फोटेक आयोजनाको मिति घोषणा हुनेछ । महासंघले सन् १९९५ देखि क्यान इन्फोटेकको सुरुवात गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू