अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५२ | Colorodo: 07:07

गण्डकीको मन्त्रिपरिषदले पूर्णता पायो

बिआरटीनेपाल २०७९ माघ १० गते ६:२४ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको छ । मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि अधिकारीले जिम्मेवारी बाँडफाँटसहित मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो । प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पुस २५ गते अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । सोही दिन एमालेकी सीता सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरूङलाई मन्त्री नियुक्त गरेका अधिकारीले जिम्मेवारी भने दिनुभएको थिएन ।

गण्डकीमा रहेका १२ वटा मन्त्रालयबाट ७ वटामा झारेका मुख्यमन्त्री अधिकारीले माओवादीलाई २ र एमालेलाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय राखेका छन्। राप्रपालाई एउटा मन्त्रालय दिएका छन्।सोही सहमति अनुसार माओवादीबाट रेशम जुग्जाली, एमालेबाट रोशन गाहा मगर र बेदबहादुुर गुरूङ ‘श्याम’ मन्त्री नियुक्त भएका छन्। उनीहरूलाई प्रदेश प्रमुख गुरूङले मंगलबार साँझ सपथ ग्रहण गराउनुभएको छ । मन्त्रिपरिषदले पूर्णता पाएसँगै मन्त्रीलाई जिम्मेवारी बाँडफाँटमा पनि सहमति जुटेको माओवादी मन्त्री चुमानले बताउनुभयो।

उहाँका अनुसार चुमानले भौतिक पूर्वाधार विकास मन्त्रालय, जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण, राप्रपाका गुरूङले सामाजिक विकास मन्त्रालय, एमालेका रोशन गाहा मगरले आर्थिक मामिला, बेदबहादुर गुरूङले कृषि तथा ऊर्जा र सीता सुन्दासले आन्तरिक मामिला मन्त्रालय पाउनुभएको छ । मुख्यमन्त्री अधिकारी प्रदेशमा मन्त्रालय घटाउने निर्णय गरेर सोमबार काठमाडौं जानुभएको थियो । काठमाडौंमा सोमबार साँझ एमाले अध्यक्ष केपी ओली र मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर पोखरा फर्किनुभएको थियो । पोखरा फर्किएलगत्तै मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषदलाई पूर्णता दिनुका साथै मन्त्रालय बाँडफाँट गर्नुभएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू