अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०५ | Colorodo: 02:20

बैंकको ब्याजदर क्रमशः कम हुँदै गएको छ -अर्थमन्त्री पौडेल

बिआरटीनेपाल २०७९ माघ ९ गते ६:३५ मा प्रकाशित

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरु देखिएको बताउनुभएको छ । सोमवार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलले बैंकहरुको ब्याजदर कम हुँदै गएकाले यसको तिब्रताका लागि आफूहरु लागेको बताउनु भयो । उहाँले महँगो ब्याजदरलाई सीमाभित्र राख्नुपर्छ भन्ने सरकारको सोच भए पनि ब्याजदर र मुद्रास्फितिको सम्बन्ध हुने बताउनु भयो । अर्थमन्त्री पौडेलले निजी क्षेत्रले वित्तीय क्षेत्रमा पहुँचको माग गरेको भन्दै त्यसमा भएका कमीहरु र समाधानका उपायहरु सरकारलाई दिन आग्रह गर्नुभयो । उहाँले राष्ट्र बैंक स्वायत्त कानुनको आधारमा सञ्चालित स्वायत्त संस्था भएकाले राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसाबले हस्तक्षेप नगर्ने बताउनु भयो ।

अर्थमन्त्री पौडेलले लघु तथा घरेलु साना र मझौला उद्योगको क्षेत्रलाई कसरी प्रवर्द्धन गर्ने र यस क्षेत्रका समस्या कसरी समाधान गर्ने भन्ने सार्थक उपाय खोज्नुपर्ने बताउनु भयो । उहाँले वर्तमान सरकार कुनैपनि नीति बनाउँदा र निर्णय गर्दा सम्बन्धित क्षेत्रसँग छलफल गरेर मात्रै निर्णय गर्ने पक्षमा रहेको बताउनु भयो ।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रका कतिपय मागहरु सरकारले सम्बोधन गर्ने काम शुरु भइसकेको बताउनु भयो । उहाँले कर बुझाउन जाँदा दुःख व्यहोर्नुपरेको अवस्थाको गुनासोलाई अब सरकारले सम्बोधन गर्ने पनि विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू