अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४६ | Colorodo: 12:01

आदिवासी जनजाति चलचित्र विशेष सम्मान–२०७९ सम्पन्न

बिआरटीनेपाल २०७९ माघ ७ गते १०:३३ मा प्रकाशित

वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामा, सफल चलचित्र निर्देशकको मिलन चाम्स, समाजसेवी तथा गायक पूर्ण लिम्बु र मोडल तथा अभिनेत्री एलिशा राईलाई ‘आदिवासी जनजाति चलचित्र विशेष सम्मान–२०७९’बाट सम्मानित हुनुभएको छ । सम्मानित हुनेहरूले समाजमा गरेको समाजसेवा, चलचित्र र सङ्गीत उद्योगमा पुर्‍याएको अतुलनीय योगदानको उच्च मूल्याङ्कनसहित उक्त सम्मान प्रदान गरिएको बताइएको छ । बिहीबार सुनसरीको झुम्कामा अवस्थित म्युजिक सिनेमा हलमा आदिवासी जनजाति चलचित्र महासङ्घ, प्रदेश १ ले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त सम्मान गरिएको हो ।

यस्तै नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ अध्यक्ष अरुणकुमार प्रधान, म्युजिक सिनेमा हलका सञ्चालक तथा थारु चलचित्र उद्योगका पहिलो नायक परशुराम चौधरी, चलचित्र निर्माता तथा निर्देशक लाखमान योन्जन तामाङ, कलाकार तथा समाजसेवी रितेशलंग खत्री लगायतलाई पनि सम्मान गरिएको थियो । ‘आदिवासी जनजाति चलचित्रको महत्त्व र आवश्यकता सम्बन्धी अन्तरक्रिया, सम्मान कार्यक्रम तथा साधारण सभा’ नाम दिइएको कार्यक्रममा महासङ्घका प्रदेश १ अध्यक्ष ज्योतिराज राईको सभापतित्व तथा प्रदेश १ संसद् इन्द्र आङ्बोको प्रमुख आतिथ्यता रहेको थियो ।

चलचित्र विकास बोर्ड सह–आयोजक रहेको कार्यक्रममा विभिन्न आदिवासी जनजातिले आ–आफ्नो झाँकी, भाषिक गीतमा नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषद् अध्यक्ष पुर्खाजीत राई, महासङ्घका निवर्तमान अध्यक्ष अमृतबहादुर सुनुवार, नेपाल निर्देशक समाजका महासचिव जनकदिप पराजुली, आदिवासी जनजाति महासङ्घ इटहरी अध्यक्ष चिरहाङ राई, सङ्गीत साधना इटहरीका महासचिव राजु केसी लगायतका ब्याक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रमलाई इक्सा मादेनले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया