अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 09:37

ए डिभिजन लिग : पहिलो खेल खुमलटार र फ्रेन्ड्सबीच हुने

बिआरटीनेपाल २०७९ माघ ६ गते ५:२१ मा प्रकाशित

यसै वर्षको फागुन १९ बाट आयोजना हुने शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल यसै सिजन बढुवाभएको खुमलटार युथ क्लब र ललितपुरको फ्रेन्ड्स क्लबबीच हुने भएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रबार सार्वजनिक भएको तालिका अनुसार पहिलो खेल खुमलटार युथ क्लब र फ्रेन्ड्सबीच हुने निश्चित भएको हो ।

निर्धारित मिति भन्दा केही महिनापछि धकेलिएको लिगका लागि शुक्रबार एन्फाले पाँचौ चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ र खेल डबल राउण्ड रोबिन प्रणालिमा सञ्चालन हुने छ ।२०७२ सालको राष्ट्रिय लिग पछि लिग डबल राउण्ड रोबिन लिग प्रणालिमा सञ्चालन हुन लागेको हो । १४ क्लबको सहभागिता रहेको लिगका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना हुने लिग निर्देशक सञ्जीव मिश्रले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

फागुन तेस्रो साताबाट आयोजना हुन लागेको नयाँ सिजनको लिगमा यस पटक चर्च ब्वाइज युनाईटेड फुटबल क्लब र खुमलटारले शीर्ष डिभिजनको लिगमा डेब्यु गर्ने छ । नवप्रवेशी चर्च ब्वाइजले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग फागुन २० गते खेल्ने छ भने साविक विजेता मछिन्द्र फुटबल क्लबले पहिलो खेलमा जावलाखेल युथ क्लबसँग फागुन २१ गते खेल्दै नयाँ सिजनको आरम्भ गर्ने छ ।

डबल राउण्ड रोबिन प्रणालीमा हुने प्रतियोगितामा कुल १ सय ८२ खेल हुने छ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउने छन् । यस्तै, मस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

यस्तै, फेयर प्ले अवार्ड विजेता टोलीले ३ लाख पाउने छन् । यस्तै, प्रत्येक खेलको विजेता क्लबले ५० हजार रुपैयाँ प्राप्त गर्ने छ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिने छ र हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू