अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३२ | Colorodo: 03:47

तमु सोसाइटी अमेरिकाले ल्होसार २०७९ विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाउँदै

बिआरटीनेपाल २०७९ पुष ७ गते १३:५८ मा प्रकाशित

न्यु योर्क । द गुरुङ (तमु) सोसाइटी अमेरिकाले गुरुङ तमु जातिको महान् पर्व ल्होसार २०७९ विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाउँदै छ । यो वर्ष तो ल्हो अर्थात् बाघ वर्गको बिदाइ र हि ल्हो अर्थात् बिरालो वर्गको स्वागत गर्दै यही डिसेम्बर २३ तारिखका दिन ल्होसार मनाउन लागेको द गुरुङ (तमु) सोसाइटीका अध्यक्ष तोरण गुरुङले जानकारी दिए । गुरुङहरूले हरेक वर्ष पुष १५ लाई नयाँ वर्षको रूपमा मनाउने गर्छन् । ल्होको अर्थ वर्ग (वर्ष) र छारको अर्थ नयाँ हुने भएकोले ल्होछारलाई गुरुङहरूले नयाँ वर्षको रूपमा मनाउने चलन छ । तमु जातिले वर्गको आधारमा उमेर गणना गर्छन् ।

गुरुङ जातिको भाषा, लिपी, धर्म, संस्कार, संस्कृति, भेषभुषा, परम्पराको संरक्षण गर्न र पहिचान जोगाउनको लागि सोसाइटीले ल्होसार वार्षिक रूपमा मनाउँदै आएको बताउँदै अध्यक्ष गुरुङले गुरुङ समुदायका सम्पूर्ण बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूलाई आफ्नो छोराछोरीहरु सहित ल्होछारमा सहभागी हुन र कार्यक्रम सफल बनाउन अनुरोध गरे । अध्यक्ष गुरुङले भने, यो विदेशी भूमिमा ल्होसार मनाउँदा, नयाँ पुस्तालाई हाम्रो संस्कार, संस्कृति, अस्तित्व र पहिचानका बारेमा जानकारी दिने महत्त्वपूर्ण पर्वसँगै सम्पूर्ण गुरुङ जातिलाई एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण अवसर पनि हो । आजका युवा भोलिका कर्णधार भन्ने मूल नाराका साथ युवाहरूको क्षमता अभिवृद्धि गराउने उद्देश्यले युवाहरूलाई ल्होछारमा स्वयंसेवकको रूपमा सहभागी गराउँदै आएको सोसाइटीले जनाएको छ ।

न्यूयोर्कम र न्यूजर्सीमा बसोबास गर्ने गुरुङ जातिले हरेक वर्ष ल्होसार मनाउँदै आए पनि कोभिडका कारण २०२० मा भने भच्र्युअल रूपमा ल्होसार आयोजना गरिएको थियो ।

गुरुङ जातिले विभिन्न १२ ओटा जीव जन्तुहरूको चक्रलाई आधार मानेर प्रत्येक वर्ष नयाँ वर्षको रूपमा ल्होसार मनाउँदै आएको छ ।

गुरुङ सोसाइटीले सम्पूर्ण गुरुङहरू एकजुट हौँ, संस्कार र संस्कृतिको जगेर्ना गरौँ भन्ने मूल नाराका साथ न्यूयोर्कमा ल्होसार पर्व मनाउँदै आएको छ । सोसाइटीले आफ्नो रीतिरिवाज, धर्म, संस्कारलाई जीवित राख्न र पुस्तान्तरणको लागि सन् २००१ मा न्यु योर्क सिटीमा विधिवत् रूपमा संस्था दर्ता गरी हरेक वर्ष पौष १५ मा ल्होछारलाई विशेष पर्वको रूपमा मनाउँदै आइरहेको छ । पुष १५ सबै भन्दा लामो रात र छोटो दिन हुने साथै हेमन्त ऋतु अन्त्य भई शिशिर ऋतु सुरु हुने भएकोले पनि यो दिनको विशेष महत्त्व रहेको छ । न्यू योर्कमा ल्होछारको यो २३ औँ संस्करण हो । ल्होसार पर्वले, गुरुङहरूको संस्कृतिलाई जगेर्ना गर्न, प्रवर्धन गर्न तथा गुरुङ संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पनि बर्सेनि तमु ल्होसार मनाउँदै आएको सोसाइटीले जनाएको छ । कार्यक्रममा विभिन्न गुरुङ जातिको मौलिक संस्कृति झल्कने नृत्य सोरठी, कौडा, लगायत विभिन्न सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरिने आयोजकले जनाएको छ । विगतमा सामूहिक रूपमा भेला भएर स्यो कै वनभोज खाएर ल्होसार पर्व मनाउँदै गरिन्थ्यो । ल्होसार पर्वलाई राष्ट्रिय पर्वको रूपमा नेपाल सरकारले दिदैं आएको सार्वजनिक बिदा कटौती गरेको प्रति विश्वका सम्पूर्ण गुरुङहरूले विरोध गर्दै सार्वजनिक बिदा कायम गर्न माग गर्दै आएको छ । पुष १५ विश्वभरिका गुरुङहरूले विभिन्न कार्यक्रम गरी ल्होसार मनाउँदै आएको छ ।

प्रतिक्रिया