अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०८ | Colorodo: 02:23

बाह्रौं सुम्निमा साँझ क्रिसमसमा

बिआरटीनेपाल २०७९ पुष २ गते ११:४८ मा प्रकाशित

बिआरटीनेपाल
न्यू योर्क। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले बाह्रौं सुम्निमा साँझ क्रिसमस अर्थात् डिसेम्बर २५ मा गर्ने भएको छ।

न्यू योर्कमा बसोबास गर्ने किरात राई र नेपाली समुदायमाझ लोकप्रिय सुम्निमा साँझको आकर्षण किरात राई समुदायको मौलिक सांस्कृतिक नृत्य तथा भेषभुषाको प्रस्तुति रहनेछ। कार्यक्रममा ‘भ्वाइस अफ नेपाल ३’ का विजेता किरण गजमेरले साङ्गीतिक प्रस्तुति दिनेछन्। त्यसपछि कार्यक्रमको अन्त्यसम्म न्यू योर्कका नेपाली समुदायमाझ परिचित डिजे जाङ्बूले फ्लोर तताउने छन्।

 

किरात राई समुदायको महान् साड साकेला उधौलीको अवसरमा सुम्निमा साँझको आयोजना हरेक वर्ष केआरएसएको न्यू योर्क च्याप्टरले गर्दै आएको छ। कोभिड–१९ का कारण गत वर्ष सुम्निमा साँझ आयोजना गरिएको थिएन। ‘कोभिडका कारण घर बस्दा बस्दा उकुसमुकुस भएका नेपाली समुदायलाई एउटा राम्रो मनोरञ्जनात्मक कार्यक्रमको खाँचो छ,’ च्याप्टरकी अध्यक्ष वाकासा वान्तावाले भनिन्, ‘हामीले त्यो खाँचो पुरा गर्ने भरपुर प्रयत्न गरेका छौँ।’

अध्यक्ष वान्तावाले कार्यक्रम ब्यबसायिक बनाउन कलाकार छनौटदेखि खानपान लगायतका विविध पक्षमा ध्यान दिएको बताइन्। ‘किरण गजमेर एउटा एल्बम निकालेको भरमा गायकको पगरी भिरेका कलाकार होइन दर्शकको मन जितेर भ्वाइस अफ नेपाल ३ का विजेता बनेको कलाकार हुनुहुन्छ,’ उनले कार्यक्रमको तयारीबारे उदाहरण दिँदै भनिन्, ‘उहाँको प्रस्तुतिले पुराना स्थापित कलाकार हेर्दै आएका न्यू योर्कबासीलाई नयाँपनको आभास दिने हाम्रो विश्वास छ।’ उनले कार्यक्रम कमजोरीविहीन बनाउन आफ्नो नेतृत्वमा ३१ जनाको टोलीले काम गरेको पनि बताइन्।

केआरएसए अमेरिकामा किरात राई भाषा, संस्कार, संस्कृति र भेषभुषा संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको सामाजिक संस्था हो। यो संस्थाले त्यही उद्देश्य पूर्ति गर्न हरेक वर्ष आधा दर्जनभन्दा बढी विभिन्न कार्यक्रम आयोजना गर्छ। सुम्निमा साँझ त्यसमध्ये एउटा कार्यक्रम हो। न्यू योर्क च्याप्टर अध्यक्ष वान्तावाले नयाँ पुस्ताका लागि यो कार्यक्रम किरात राई समुदायको संस्कृति बुझ्ने प्लेटफर्म भएको बताइन्।

साकेला वर्षमा दुई पटक मनाइन्छ। जाडो छल्न लेकबाट बेसी झर्दा मनाइने साकेलालाई उधौली भनिन्छ। मौसमसँग पनि जोडिएको साकेला नृत्यले किरात राई समुदायको उत्पत्ति र जनजीविकाको कथा भन्छ। गर्मी लागेपछि लेक जाने बेला मनाइने साकेलालाई चाहिँ उँभौली भनिन्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू