अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

बेलायत, जापान र अमेरिकाले लडाकू विमान बनाउने

बिआरटीनेपाल २०७९ मंसिर २३ गते ४:५० मा प्रकाशित

बेलायत, जापान र इटालीले नयाँ पुस्ताको लडाकू विमान निर्माणको तयारी गरेका छन् । आगामी दिनमा अमेरिका जस्ता सहयोगी देश पनि सामेल हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बेलायती प्रधानमन्त्री ऋषि सुनकले छिट्टै यसको घोषणा गर्न सक्ने बताइएको छ ।यो नयाँ लडाकू विमान सन् २०३० को मध्यसम्ममा तयार हुनेछ र यसमा हावामा लड्न सक्ने क्षमता समावेश हुनेछ । यसका साथै यो विमान शत्रुको नजरबाट बच्नसमेत सक्षम हुनेछ । यसमा अत्याधुनिक सेन्सरसहित आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिने छ । जसले आवश्यक परे पाइलटलाई सहयोग गर्नेछ ।

यो विमानले बिस्तारै टाइफुन जेटलाई प्रतिस्थापन गर्नेछ । आवश्यक पर्दा, यो लडाकू विमान पाइलट बिना उडान भर्न सक्षम हुनेछ र हाइपरसोनिक मिसाइलहरू प्रहार गर्न सक्षम हुनेछ । यस्तो विमान बनाउने काम निकै महँगो साबित हुन सक्छ र अमेरिकी पेन्टागनको एफ–३५ विमान बनाउने परियोजना अहिलेसम्मकै सबैभन्दा महँगो परियोजना हो । यस कारणले गर्दा बेलायतले यो विमानका लागि सहयोगीहरूको खोजी गरिरहेको छ ।

इटालीसँग सो सम्बन्धी यसअघि नै सहमति भइसकेको समाचारमा जनाइएको छ । अब जापान पनि सो अभियानमा सम्मिलित हुनुलाई ठूलो कदम मानिएको छ । इन्डो प्यासिफिकमा चीनको बढ्दो महत्वाकांक्षालाई ध्यानमा राख्दै जापान पश्चिमी मुलुकका लागि महत्वपूर्ण सहयोगी बनेको छ । अमेरिका यस्तै, खालको फाइटर जेट बनाउनमा जुटेको छ ।

जर्मनी, स्पेन र फ्रान्स पनि यस्तो छुट्टै परियोजनामा काम गरिरहेका छन् । बेलायतका लागि यो सम्झौता सुरक्षाका लागि मात्र नभई आर्थिक दृष्टिकोणले पनि महत्वपूर्ण छ । यसबाट देशमा हजारौं नयाँ रोजगारी सृजना हुने र हतियार निर्यातको बाटो पनि खुल्ने अपेक्षा रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू