अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०४ | Colorodo: 07:19

सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति, नेताहरुले जारी गरे संयुक्त विज्ञप्ति

बिआरटीनेपाल २०७९ मंसिर १९ गते ६:०० मा प्रकाशित

पाँच दलीय सत्ता गठबन्धनले निरन्तरता पाउने भएको छ। मंसिर ४ को आम निर्वाचनपछि पहिलो पटक बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र संयुक्त जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मुलुकका सामु विद्यमान चुनौतीको सामना गर्न गठबन्धनलाई निरन्तरता दिन जरुरी रहेकाे उल्लेख गरेका छन्।

‘हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ,’ चार नेताले हस्ताक्षर गरेको विज्ञप्तिमा छ, ‘निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएको छ ।’विज्ञप्तिमा निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिए । निर्वाचनका दौरानमा देखिएका ति असमझदारीहरुको पनि आगामी दिनमा उचित समिक्षा र सम्बोधन गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।

सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर चुनाव लडेका थिए। आम निर्वाचनअघिको चुनावी सिट तालमेलमा असहमति जनाएर जनता समाजवादी पाटी बाहिरिएर लोकतान्त्रिक समाजवादी पाटी गठबन्धनमा भित्रिएको हो। चुनावपछि अब कसको नेतृत्वमा सरकार बन्ने भनेर विभिन्न विकल्पहरुमाथि आन्तरिक तथा बाह्य छलफल भइरहेका बेला गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस नेता कृष्ण सिटौला, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव बेदुराम भुसाल, माओवादी केन्द्रका महासचिव देव गुरूङ र नारायणकाजी श्रेष्ठ लगायत उपस्थित छन्। बैठकमा चुनावको परिणामको पनि समीक्षा भएको छ। निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभामा ५७ सिट जितेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू