अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 07:34

अपराजित रहँदै सुदूरपश्चिम च्याम्पियन

बिआरटीनेपाल २०७९ मंसिर १९ गते ५:०२ मा प्रकाशित

लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खलमा सुदूरपश्चिम प्रदेश अन्तिम खेलसम्म अपराजित रहँदै च्याम्पियन भएको हो ।च्याम्पियन बन्ने क्रममा मिलन बोहराको उत्कृष्ट बलिङ रह्यो । लुम्बिनीले प्रश्तुत गरेको ९३ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले २१ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले अविजित ३९, दीपक बोहराले २५ र कप्तान अनुराग सिंहले २२ रन जोडे ।

लुम्बिनीका लागि रमेश कुर्मीले दुई तथा निर्मल गुरुङ र अभिषेक गौतमले समान एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनी प्रदेश २९.१ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३८ र नर सार्कीले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमका लागि मिलनले पाँच, हेमन्त धामी र नरेन साउदले समान दुई तथा आकाश चन्दले एक विकेट लिए ।

यस संस्करणको समूह चरणको भेटमा लुम्बिनी सुदूपश्चिमसँग १ सय रनले पराजित भएको थियो । सँगै सुदूरपश्चिमले लुम्बिनीसँग अघिल्लो संस्करणमा फाइनल खेलमा हारेको बदलासमेत लिएको छ । प्रतियोगितामा प्रदेश १, मधेस प्रदेश,वागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित ७ प्रदेशको सहभागिता रहेको थियो । उपाधिसँगै सुदूरपश्चिमले दुई लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै, उपविजेता लुम्बिनीले एक लाख रुपैयाँ प्राप्त गर्‍यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू