अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८ | Colorodo: 19:23

पर्वतको मध्यमोदी जलविद्युत आयोजना सम्पन्न, परीक्षण उत्पादन सुरू

बिआरटीनेपाल २०७९ मंसिर १९ गते ४:४९ मा प्रकाशित

पर्वतको मोदी खोलामा १८ मेगावाट क्षमताको मध्य मोदी जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरू भएको हो । मिडिल मोदी हाईड्रोपावर लिमिटेडले २०७१ सालको मंसिर महिनाबाट सुरू गरेको आयोजना ८ वर्षको अवधिमा सम्पन्न भएको हो । करिब ४ अर्ब रूपैयाँको लगानीमा निर्माण भएको आयोजनाबाट आज मंगलबारदेखि परीक्षण उत्पादन सुरू गरिएको आयोजना प्रमुख प्रताप खरेलले जानकारी दिनुभयाे । नेपाल विद्युत प्राधिकरणको टोलीले परीक्षण उत्पादन र प्रसारण लाईनमा जडान गर्ने कार्यको अध्ययन गरिरहेको समेत खरेलले बताउनुभयाे ।

निर्माणकाे काम थालेको ३ वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी र कोभिड–१९ को असरका कारण आयोजना ५ वर्षपछि धकेलिएको हो । आयोजना प्रमुख खरेलका अनुसार परीक्षण उत्पादन सुरू गरेपछि उत्पादित विद्युत १ सय ३२ केभी क्षमताको मोदी–लेखनाथ सवस्टेसन जडान गर्ने तयारी भइरहेको छ । १४ दिनसम्मको परीक्षणपछि मात्र केन्द्रीय प्रसारण लाईनमा जोडिने भएको छ ।

आयोजनाको ड्याम, टनेल, पावर हाउस, टावर निर्माणलाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ ती सबै काम पूरा भएका छन् । प्रसारण लाईनकाे समेत निर्माण सकिएपछि परीक्षण उत्पादन थालिएको आयोजना प्रमुख खरेलले बताउनुभयाे । सुरूवातमा २ अर्ब ८० करोड लागत लाग्ने अनुमान गरिएको आयोजनाको निर्माण चौधरी ग्रुपले गरेको हो । २०७१ सालमा ग्रुपका अध्यक्ष विनोद चौधरीले आयोजनाको शिलान्यास गर्नुभएकाे थियाे ।

३ वर्षमा नै निर्माणको काम सकेर २०७४ मंसिरमा काम पूरा गर्ने लक्ष्य राखिएको भएपनि प्रभावित क्षेत्रका नागरिकको पटक पटकको आन्दोलन र विरोध तथा प्राकृतिक विपदका कारण आयोजनाको काम लम्बिएको आयोजना प्रमुख खरेलले जानकारी दिनुभयो । जसका कारण लागत समेत ह्वात्तै बढेको छ । २०७२ सालमा भूकम्पको मारमा परेको आयोजनाले बाढी र पहिरोको पनि उस्तै सामना गर्नुपरेको थियो । तर पछिल्लो १ वर्ष यता आयोजना निर्माण कार्यमा कुनै पनि पक्षबाट विरोध नभएका कारण कामले तीव्रता पाएको थियो ।

पर्वतको मोदी गाउँपालिका–२ केरूङ्गामा पावर हाउस राखिएको आयोजनाको बाँध भने कास्कीको अन्नपूर्ण गाउँपालिका–३ बिरेठाँटीमा रहेको छ । आयोजनाको २३ सय ९३ मिटर लामो सुरुङमा मोदी खोलाको पानी ल्याइने भएकाे छ । निर्माण सुरु गर्ने बेलामा १५.१ मेगावाट क्षमतामा आयोजना सञ्चालन गर्ने भनिएको भएपनि निर्माण कार्य सँगसँगै क्षमता बढेर १८ मेगावाटमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू