अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

कसरी चुनिन्छन् राष्ट्रपति र उपराष्ट्रपति ?

बिआरटीनेपाल २०७९ मंसिर १९ गते ४:४६ मा प्रकाशित

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावकाे मत परिणाम आइसकेको छ । अब समानुपातिकतर्फको मात्रै मत परिणाम आउन बाँकी छ । प्रत्यक्षतर्फको मत परिणामको टुङ्गो लागिसक्दा सत्ता गठबन्धन प्रमुख दल नेपाली कांग्रेसले ५७, नेकपा एमालेले ४४, नेकपा (माओवादी केन्द्र) ले १८, नेकपा (एकीकृत समाजवादी) ले १०, जनता समाजवादी पार्टीले सात, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, राष्ट्रिय स्वतन्त्र पार्टीले सात, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, नेपाल मजदुर किसान पार्टीले एक, जनमत पार्टीले एक, राष्ट्रिय जनमोर्चाले एक र स्वतन्त्र उम्मेदवार पाँच जनाले चुनाव जितेका छन् ।

प्रदेश सभातर्फ पनि कांग्रेस प्रत्यक्षतर्फ एक सय ११, एमाले ९१, माओवादी ५३, एकीकृत समाजवादी १५, जनता समाजवादी पार्टी १०, राष्ट्रिय प्रजातन्त्र पार्टी ११, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नाै, नागरिक उन्मुक्ति पार्टी पाँच, नेपाल मजदुर किसान पार्टी एक, जनमत पार्टी सात, हाम्रो पार्टी नेपाल एक र १२ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । समानुपातिकतर्फ भने नेकपा एमाले पहिलो स्थानमा छ भने दोस्रोमा नेपाली कांग्रेस, त्यसपछि क्रमशः माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) रहेका छन् ।

चुनावकाे सबै नतिजा नसकिँदै भावी सरकारको नेतृत्व कसले गर्छ भन्ने कौतुहलता बढेको छ । चुनावकाे परिणामअनुसार कुनै पनि एक दलको मात्रै बहुमत नपुग्दा फेरि पनि गठबन्धन बनाएर नै सरकार बनाउने स्थिति छ । यही कारण पनि नयाँ सरकारको नेतृत्वको चासो र चिन्ता आम नागरिकमा उत्तिकै बढेको छ । साथसाथै राष्ट्रपति/उपराष्ट्रपति को बन्ला भन्ने चासो आम मानिसमा छ । पाँच वर्षका लागि चुनिने राष्ट्रपति र उपराष्ट्रपति को बन्ला भन्ने कौतुहलता हुनु स्वाभाविक पनि हो । तर राष्ट्रपति र उपराष्ट्रपति कसरी चुनिन्छन् भन्ने बारेमा भने आम नागरिकलाई थाहा नहुन सक्छ । राष्ट्रपतिको चुनाव हुनका लागि पहिलो कुरा त प्रत्यक्षतर्फ समानुपातिक मत परिणाम आइसक्नुपर्छ । त्यसपछि बहुमत बनाएर कुनै एक दलको नेतृत्वमा सरकार गठन हुन्छ । सरकार गठन भइसकेपछि सङ्घीय संसद्को बैठक बसेको १५ दिनमा सभामुख र उपसभाममुख चुन्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । त्यसपछि मात्रै राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव प्रक्रिया सुरु हुन्छ । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि भने प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्य मतदाता हुनेछन् । तर सङ्घीय सांसदले दिएको एक भोट बराबर ७९ र प्रदेश सभा सदस्यले दिएको एक भोटको ४८ मतभार हुने बताउनुहुन्छ निर्वाचन आयोगका सहायक प्रवक्ता एवम् सूचना अधिकारी सूर्यप्रसाद अर्याल ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले राष्ट्रपति हुनका लागि ४५ वर्ष उमेर पुगेको र कानुनले योग्य ठहरिएको व्यक्ति हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सभाका सदस्यको एक जनाले दिएको मत ४८ र प्रतिनिधि सभाका एक जना सदस्यले दिएको ७९ जोड्दै ५० प्रतिशतभन्दा बढी मत ल्याउने व्यक्ति नै राष्ट्रपतिमा विजयी बन्ने बताउनुभयो । सहायक प्रवक्ता अर्यालका अनुसार पहिलो चरणमा राष्ट्रपतिका लागि इच्छुक सबैले उम्मेदवारी दिन पाए पनि पहिलो चरणबाट निर्वाचित हुन नसकेको खण्डमा भने दोस्रो चरणमा पहिलो चरणमा पहिलो र दोस्रो बनेको उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा गराइने बताउनुभयो । पहिलो चरणमा प्रतिस्पर्धा गर्ने पहिलो र दोस्रोबाहेकका अन्य उम्मेदवार भने प्रतिस्पर्धाबाट बाहिरिने उहाँले बताउनुभयो ।

सहायक प्रवक्ता अर्यालले दोस्रो चुनावकाे चरणमा पनि कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेको खण्डमा पुनः अर्को पटक मतदान गर्दा सबैभन्दा बढी मत ल्याउने व्यक्ति नै राष्ट्रपतिमा निर्वाचित हुने प्रावधान रहेको बताउनुभयो । उहाँले राष्ट्रपति र उपराष्ट्रपति चुन्दा फरक लिङ्ग र फरक समुदायको हुनुपर्ने भएकाले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव एकै चरणमा गर्न नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपति र उपराष्ट्रपति चुन्दा फरक लिङ्ग र फरक समुदायको हुनुपर्छ । पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्छ । महिला राष्ट्रपति भए पुरुष उपराष्ट्रपति हुनुपर्छ । समुदाय पनि फरक हुनुपर्छ । त्यसैले दुई वटा चुनाव एकै पटक गर्न सकिँदैन । महिला आउँछ वा पुरुष आउँछ थाहा नहुने भएपछि एकै चरणमा चुनाव गर्न सकिँदैन ।’

सहायक प्रवक्ता अर्यालले राष्ट्रपति र उपराष्ट्रपतिका लागि सङ्घीय संसद्को सांसद हुने योग्यता पुगेको व्यक्ति हुनुपर्ने बताउनुभयो ।  उहाँले राष्ट्रपति र उपराष्ट्रपतिका लागि सांसद हुनु नपर्ने तर ४५ वर्ष उमेर पुगेको, कानुनले योग्य व्यक्ति, फरक लिङ्ग र फरक समुदायको हुनुपर्ने बताउनुभयो । दुई पटकभन्दा बढी राष्ट्रपति भएको व्यक्ति भने तेस्रो पटक राष्ट्रपति बन्न नपाउने उहाँले उल्लेख गर्नुभयाे ।

चुनावपछि आउने नयाँ सांसद र प्रदेश सभाबाट केही महिनाभित्र राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखसहितका झन्डै तीन दर्जन पदाधिकारी निर्वाचित हुँदैछन् । ३४ जना नयाँ पदाधिकारी आउने भएपछि यति बेला दलहरूबीच सत्ता समीकरणका लागि यी पदमा बाँडफाँट हुँदैछ । संविधानले सङ्घीय संसद् गठन भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । राष्ट्रपतिको चुनाव सङ्घीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ६२ को उपधारा ३ ले निर्वाचन मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति अर्थात् मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था गरेको छ । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एक सय ६५ र समानुपातिकतर्फ एक सय १० गरी दुई सय ७५ तथा राष्ट्रिय सभाका ५९ सहित तीन सय ३४ सांसद र प्रदेश सभाका पाँच सय ५० गरी कुल आठ सय ८४ सांसद राष्ट्रपतिको चुनावमा सहभागी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू