अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३२ | Colorodo: 13:47

सत्तारूढ गठबन्धनकाे बैठक बालुवाटारमा सुरु

बिआरटीनेपाल २०७९ मंसिर १९ गते ४:३५ मा प्रकाशित

सत्तारूढ गठबन्धनकाे बैठक बालुवाटारमा सुरु भएकाे छ । चुनावी नतिजा अन्तिम चरणमा पुगेसँगै सत्तारूढ गठबन्धनको बैठक बसेकाे हाे । बैठकमा चुनावी समीक्षासँगै नयाँ सरकार गठनको विषयमा छलफल हुने नेताहरूले बताएका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७, माओवादीले १७,  एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार र राष्ट्रिय जनमोर्चाले एक ठाउँमा जित हासिल गरेका छन् । चुनावी नतिजा सन्तोषजनक नभएको सत्ता गठबन्धनका नेताहरूले बताउँदै आएका छन् । केही ठाउँमा अन्तर्घात भएको आरोप–प्रत्यारोप पनि भइरहेको छ ।

यस्तै नयाँ सरकार गठनको विषयमा पनि सत्ता गठबन्धभित्र एकमत छैन । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेताहरूले यही गठबन्धनलाई निरन्तरता दिने बताए पनि पहिले कसको नेतृत्वमा सरकार गठन गर्ने र प्रधानमन्त्री को हुने भन्ने विवाद छ । यही गठबन्धन कायम रहे पहिला प्रधानमन्त्री को हुने भन्ने विषयमा सहमति हुन बाँकी छ । गठबन्धनभित्र सहमति हुन नसके कांग्रेस–एमाले वा एमाले–माओवादी र अरू दलको समीकरण सक्ने विश्लेषण हुँदै आएको छ ।

पाँच दलीय गठबन्धनमा अहिले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा छन् । बैठकमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, जनमोर्चाका दुर्गा पौडेललगायतका नेता सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू