अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५९ | Colorodo: 03:14

माओवादी पदाधिकारी बैठक, ”गठबन्धनमा दायाँबायाँ हुँदैन”-अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७९ मंसिर १८ गते ५:३४ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन नटुट्ने स्पष्ट पार्नुभएको छ । पार्टीको आइतबार बसेको पदाधिकारीको अनौपचारिक बैठकमा प्रचण्डले सत्ता गठबन्धन दायाँबायाँ नहुने स्पष्ट पार्नुभएको हो । अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनका चार दल र लोसपासहित मिलेर चुनाव लगिएको स्मरण गर्दै गठबन्धन र तालमेलको भावनाअनुसार नै नयाँ सरकार बन्ने बताएको एक नेताले जानकारी दिएका छन् । ती नेताका अनुसार गठबन्धनबाट पार्टी दायाँबायाँ नहुने भएकाले सोहीअनुसार आफ्नो गतिविधि गर्न पनि अध्यक्षले नेताहरूलाई निर्देशन दिनुभएको छ ।

‘हामी गठबन्धनकै पक्षमा छौँ र हुन्छौं’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भनेका छन्, ‘हामी गठबन्धन भन्दा दायाँबायाँ गर्ने स्थितिमा छैनौ । यसरी जाँदा कसैले लाञ्छना लगाउने भन्ने पनि हुँदैन । यो कुरालाई तपाईँहरुले चिरेर जानुस् ।’ शनिबार माओवादीले एमालेसँग सहकार्य गर्नसक्ने भनेर बाहिर मेसेज गएपनि पार्टी त्यो अवस्थामा नपुगिसकेको प्रचण्डले बैठकमा बताउनुभएको बुझिएको छ ।

बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि पार्टीले हाल कायम रहेको गठबन्धनको विकल्प खोजिनसकेको स्पष्ट पार्नुभयो । उहाँले पार्टीको पदाधिकारी बैठकमा चुनावकै विषयमा छलफल केन्द्रित भएको पनि जिकिर गर्नुभयो । ‘सरकारका विषयमा छलफल प्रवेश भएको छैन । माओवादीसहितको गठबन्धन भएकाले पहिला गठबन्धन घटकहरुबीच कुराकानी हुने कुरा भयो’, गुरुङले भन्नुभयो, ‘छिट्टै गठबन्धनको बैठक बसेर अघि बढिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू