अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१० | Colorodo: 04:25

विराटनगरबाट नेपथ्यको ‘मानवताका लागि संगीत’ अभियान सुरु

बिआरटीनेपाल २०७९ मंसिर १७ गते ५:०४ मा प्रकाशित

नेपथ्य संगीत समूहले ‘मानवताका लागि संगीत’ अभियानको भव्य सुरुवात गरेको छ। मानव सेवा आश्रमको मानवीयताको कार्यलाई थप प्रभावकारी बनाउन शुक्रबारबाट उक्त अभियानको सुरुवात गरिएको हो। अभियानको पहिलो कार्यक्रम शुक्रबार विराटनगरमा सम्पन्न भएको हो।मानवता प्रवर्द्धनसँगै विराटनगर–५ मा निमार्ण भइरहेको मानव सेवा आश्रमको भवन निर्माण र अक्षय कोष स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यका साथ नेपथ्य ब्याण्डसँगको सहकार्यमा लाईभ कन्सर्टको आयोजना गरिएको थियो। कन्सर्टमा नेपथ्यले ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो देउराली डाँडा’, ‘लामपाते सुरती’, ‘चरि मर्‍यो’, ‘जोमसोमे बजारमा’, ‘तालको पानी’ र ‘रेशम’ तथा ‘रातो र चन्द्र सुर्य’ लगायतका गीतहरू प्रस्तुत गरेको थियो।

ब्याण्डका मुख्य गायक अमृत गुरुङले मानव सेवा आश्रमको अभियानबारे दर्शकहरूलाई जानकारी समेत गराउनुभएको थियो । । ‘अर्को जुनी छ कि छैन थाहा छैन,’ उहाँले भन्नुभयो, ‘पुण्य कमाउने हो भने यसै जुनिमा र आजैबाट दान गर्न सुरु गरौं।’सडक आश्रित सहयोगापेक्षी नागरिकहरूको व्यवस्थापनका निम्ति विराटनगर महानगरपालिका वडा नं। ५ मा मानव सेवा आश्रमले आफ्नै भवन निमार्ण गरिरहेको छ।कुल २० करोड रुपैयाँको लागतमा आश्रमको विराटनगर शाखामार्फत् १३ दशमलब ५ कठ्ठा जग्गामा भवन निमार्ण कार्य धमाधम भइरहेको छ। भवन निमार्णका लागि प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाले पनि आश्रमलाई आवश्यक सहयोग गरेको छ। आश्रमको भवन निमार्णका लागि प्रदेश सरकारबाट १ करोड र महानगरबाट ५० लाख बजेट सुनिश्चित भइसकेको जनाइएको छ।
त्यसबाहेक शुक्रबार सम्पन्न भएको नेपथ्य लाईभ कन्सर्टले पनि हाल भाडाको भवनमा रहेको आश्रमको स्थायित्वका लागि ठुलो सहयोग पुर्‍याएको आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो।

‘आजभन्दा २० वर्षअघि विराटनगरस्थित गोग्राहा स्कुलको अवस्था निकै दयनीय अवस्थामा पुगेको थियो। त्यसबेला नेपथ्यले विराटनगरमा गरेको कन्सर्टकै आम्दानीबाट विद्यालय भरथेग भएको थियो,’ उहाँले भन्नुभयो, ‘हाल गोग्राहा स्कुलमा उच्च तहसम्मको पठनपाठन हुन्छ। नेपथ्यसँगको सहकार्यमा मानव सेवा आश्रमको मानवीयताको कार्यले पनि नयाँ आयाम पाउँछ भन्ने कुरामा हामी विश्वस्त छौं।’ नेपथ्यको अर्को कार्यक्रम मंसिर १९ गते वीरगञ्जको आदर्शनगर रंगशालामा हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार देशका प्रमुख ९ सहरहरूमा कन्सर्ट आयोजनाको तयारी छ।

प्रतिक्रिया