अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७ | Colorodo: 14:02

घाटापूर्ति गर्न आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

बिआरटीनेपाल २०७९ मंसिर १७ गते ४:४२ मा प्रकाशित

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम अहिले २७ अर्ब रुपैयाँ घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो ।निगमले  एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ । इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट यही १५ मङ्सिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा  केही घटेर आएको छ ।

‘मङ्सिर १५ गते पाएको खरिद मूल्यसूचीबमोजिम एलपी ग्यासमा प्रतिसिलिण्डर ४३ रुपैयाँ ९३ पैसा बढेर आएको छ । एलपी ग्यासमा निगमलाई अहिले प्रतिसिलिन्डर दुई सय ७७ रुपैयाँ २ पैसा घाटा भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘निगमले इन्डियन आयल कर्पोरेशनलाई अहिलेसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब २७ अर्ब रुपैयाँ तिर्न बाँकी छ ।’

ग्यास सिलिन्डर बिक्रीबाट मात्र निगमलाई १५ दिनमा ३६ करोड ८५ लाख रुपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ । यद्यपि पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा मूल्य घट्दा पनि यथावत् राख्दा १५ दिनमा करिब ५८ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ ।

‘अहिले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पदार्थको मूल्य पुनःघटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सञ्चालन राख्न र इन्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवम् सरकारलाई उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई चुनौती रहेकाले अहिलेलाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत् राखिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू