अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४८ | Colorodo: 12:03

नियति

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७९ मंसिर १६ गते २०:४७ मा प्रकाशित

लाली खसे सुन्दर फूलबाट
मुस्कान अल्पे मृदु ओठबाट
सत्-कर्म शान्ति पथ हार माने
छ भूत चर्को घरमा मसाने ।१।

मिलेर बस्थे सब बन्धुभाइ
बाँडेर खान्थे श्रमको कमाइ
पा~यो सबैको मनभित्र फाटो
छेक्यो उज्यालो जति जे छ बाटो ।२।

कुल्चेर फाल्यो कति धर्ममाला
झम्टेर ढाल्यो कति पाठशाला
विधान मिच्दै कति धान खायो
हराम उठ्दा जग थर्थरायो ।३।

ती मिर्ग चर्ने वनमा छ पासो
कुन् बास पोल्ने उसमा छ चासो
गर्जन्छ जाग्दै जब हुन्छ रात
ऊ पार्छ चारैतिर वज्रपात ।४।

अभाव भज्दै सपना सजायो
लुटेर सारा पसिना अघायो
झरेर पर्दा उसको मुहार
छ दिक्क लाग्दो पर अश्रुहार ।५।

हो बाढ छोटो पलको प्रहार
रोकिन्न अर्को ऋतुको बहार
पहारको सुन्दर खुल्छ घाम
भेट्नेछ मान्छे अनि दिव्यधाम ।६।

———————-
गोरखा, लप्सीबोट : हाल – काठमाडौ- ६, सरस्वतीनगर ।