अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२३ | Colorodo: 11:38

हिम चितुवाको फोटो नक्कली

बिआरटीनेपाल २०७९ मंसिर १२ गते १०:५४ मा प्रकाशित

काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल बनेको तथा नेपालस्थित अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा समेत राखेको दुर्लभ हिम चितुवाको फोटो नक्कली प्रमाणित भएको छ। यससँगै दूतावासले उक्त फोटो आफ्नो फेसबुक पेजबाट हटाएको जनाएको छ ।

उक्त फोटो अमेरिकी फोटोग्राफर कित्तिया पाउलोस्कीले खिचेको दाबी गरेका थिए। फोटो सार्वजनिक भएसँगै पाउलोस्कीले सञ्चार माध्यम र सामाजिक सञ्जालमा स्याबासी र चर्चा बटुलेकी थिइन्। तर, अल्पाइन म्यागेजिनले आफ्नो अनलाइन संस्करण अल्पाइनम्याग डट कममा उक्त फोटो नक्कली भएको प्रमाण प्रकाशित गरेपछि पाउलोस्की ‘बेपत्ता’ छिन भने दूतावासले उक्त म्यागेजिनको समाचार पोस्ट गर्दै ती हिम चितुवाको फोटो हटाएको जनाएको छ। साथै दूतावासले पाउलोस्कीले दाबी गरेजस्तो उनीसँग कुनै साझेदारी नगरेको प्रस्ट पारेको छ।

अल्पाइन म्यागेजिनले पाउलोस्कीले खिचेको भनिएको फोटो वास्तविक नभएर फोटोसप गरी बनाइएको जनाएको छ। ‘वास्तविक झैँ लाग्ने ती फोटो अमेरिकी फोटोग्राफरका हिसाबले प्रकाशको मात्रा केही अनौठो र अलि बढी कलात्मक देखिन्थ्यो जसले ती फोटो सक्कली भएकोमा शङ्का पैदा ग¥यो,’ अल्पाइनम्याग डटकममा उल्लेख छ, ‘जाँच गरेपछि हामी प्रमाण दिन सक्छौँ कि तीमध्ये कम्तीमा तीन वटा फोटोमा हेरा फेरी गरिएको छ।’

अल्पाइन म्यागेजिनले ती फोटोको प्रकृति, पृष्ठभूमि, संयोजन, प्रकाश र स्थानमा हेरफेर गरिएको जनाएको छ । उक्त म्यागेजिनका अनुसार हिम चितुवाको पृष्ठभूमिमा नभएको हिमाल अर्को फोटोबाट सम्पादन गरेर राखिएको छ भने हिम चितुवा विज्ञ भिन्सेन्ट मुनियरले उक्त फोटो लिइएको भनिएको स्थानमा हिम चितुवा जानै नसक्ने ठोकुवा गरेका छन्। ‘यसको अर्थ फोटो नक्कली हो,’ म्यागेजिनले उल्लेख गरेको छ।

अल्पाइन म्यागेजिनले पाउलोस्कीको फोटो अति उत्तम भएको तर त्यो खिचिएको नभएर फोटोशपमा सिर्जना गरिएको जनाएको छ। पाउलोस्कीको इन्स्टग्राम प्रोफाइल फोटोसमेत सम्पादित भएको उक्त म्यागेजिनको दाबी छ। पाउलोस्कीको प्रोफाइल फोटोमा एकातिर केश बाटिएको देखिन्छ भने अर्कोतिरको केश पछाडि तलसम्म झरेको देखिन्छ जसलाई सम्पादन गरेर बनाइएको उक्त म्यागेजिनको दाबी छ।

पाउलोस्कीको वेबसाइटमा हिम चितुवाका जम्मा चारवटा फोटो भएको र उनको इन्स्टाग्राममा प्रोफाइल पिक्चरसहित पाँच फोटो हुनु अस्वाभाविक भएको अल्पाइन म्यागेजिनको भनाइ छ। ‘उनले अरू जनावरको फोटो किन खिचिनन् वा अरू फोटो किन राखिनन्,’ अल्पाइन म्यागेजिनको प्रश्न छ।

हिम चितुवा विज्ञ मुनियरले उक्त म्यागेजिनलाई हिम चितुवा हिउँ भएका ठाउँमा सिकार नपाइने भएकाले नजाने उल्लेख गर्दै पाउलोस्कीको फोटो गडबड भएको बताएका छन्। उनले हिम चितुवा हिउँ नहुने चट्टानी क्षेत्रमा बसोबास गर्छ भनेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू