अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 00:08

रुसी सेनाबाट युक्रेनको राजधानी किएभलगायत दर्जनौं ठाउँमा बमबारी

बिआरटीनेपाल २०७९ मंसिर ८ गते ५:११ मा प्रकाशित

रुसी आक्रमणका कारण सिंगो युक्रेनमा अन्धकार छाएको छ । रुसले पछिल्लो समय युक्रेनी उर्जा केन्द्रहरूमा आक्रमण केन्द्रीत गरेपछि युक्रेनभरी अन्धकार भएको हो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले मानवता विरुद्धको अपराध गरेको भन्दै आक्रोश ब्यक्त गर्नुभएको छ ।रुसी आक्रमणका कारण ६ जना सर्वसाधारण मारिएको र उर्जा अभावका कारण तीन वटा न्युक्लियर रियाक्टर बन्द गर्नुपरेको युक्रेनी अधिकारीहरुले बताएका छन् । युक्रेनको छिमेकी माल्दोभामा पनि अन्धकार छाएको छ ।

माल्दोभामा भने रुसले प्रत्यक्ष आक्रमण गरेको छैन । न्युयोर्कमा राष्ट्रसंघीय सुरक्षा परिषद बैठकलाई सम्बोधन गर्दै जेलेन्स्कीले उर्जा आपूर्तिको अभावमा लाखौं मानिसहरू अँध्यारो र कठ्याङ्ग्रिदो चिसोमा बस्नु परेको बताउनुभयो ।शून्य डिग्री भन्दा तलको तापक्रममा सामान्य तातो समेत उपलब्ध हुन नसकेको र खानेपानीको समेत अभावमा सर्वसाधारण रहेको जेलेन्स्कीको भनाइ छ । बुधबार मात्रै रुसी सेनाले युक्रेनी राजधानी किएभ, पश्चिमी शहर लभिभलगायत दर्जनौं स्थानमा बमबारी गरेको थियो ।

युक्रेनी सेनाका प्रमुख जनरल भ्यालेरी जालुज्नीले कम्तिमा ६७ वटा मिसाइल प्रहार भएको र ती मध्ये ५१ वटालाई असफल पारेको दाबी गर्नुभएको छ । उता, विश्व स्वासथ्य संगठनले उर्जाको अभावमा लाखौं युक्रेनी जनताको जीवन जोखिममा परेको बताएको छ । डब्ल्युएचओका क्षेत्रीय निर्देशक ह्यान्स हेन्री क्लुजले अहिले नै एक करोड बढी युक्रेनीहरु उर्जा र खानेपानीको अभावमा बस्न बाध्य भएको भन्दै चिसो बढेसँगै युक्रेनी सर्वसाधारणको जीवन नै जोखिममा पर्ने चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू