अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५४ | Colorodo: 23:09

प्रतिनिधि सभा निर्वाचन- शीर्ष नेताहरू को कहाँबाट निर्वाचित ?

बिआरटीनेपाल २०७९ मंसिर ७ गते ५:३९ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ २१ हजार ४ सय ५१ मतसहित बाग्लुङ क्षेत्र नम्बर १ मा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका सूर्यप्रसाद ठाकुरले १८ हजार ८ सय २५ मत पाउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १ सय ८२ मत ल्याउनुभयो । यसपालिको प्रतिनिधि सभामा जनमोर्चाको यो पहिलो जित हो । ८० वर्षका केसी प्रतिनिधि सभामा हालसम्म निर्वाचित मध्ये सबैभन्दा जेष्ठ नागरिक हुनुहुन्छ । बागलुङ–२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित हुनुभएको छ । नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५ सय ९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक सांसद हुनुभएको हो ।

सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी हुनुभएको छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतले पराजित गर्दै राउत विजयी हुनुभएको हो । राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९ सय ६९ मत ल्याउनुभयो । बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित हुनुभएको छ । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले पछि पार्दै उहाँ निर्वाचित हुनुभएको हो । चौधरीले २६ हजार पाँच सय २० मत ल्याउँदा उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका पन्थले २६ हजार तीन सय ८४ मत ल्याउनुभयो । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित हुनुभएको छ । खनालले १४ हजार २ सय ४ मत ल्याउँदा नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत प्राप्त गर्नुभयो । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित हुनुभएको छ ।

आज सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाउनुभएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ८ मतले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक सांसद चुनिनुभएको हो । भट्टराईले २१ हजार ९ सय ४३ मत पाउँदा उहाँका प्रतिस्पर्धी खेलप्रसादले २१ हजार ७ सय ५३ मत प्राप्त गर्नुभयो । रुकुम पूर्वबाट सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर १२ हजार २ सय ६२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्ललाई ७ हजार ४१ मतान्तरले हराउँदै घर्तीमगर विजयी हुनुभएको हो ।

ओलखढुङ्गाबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका रामहरि खतिवडा विजयी हुनुभएको छ । खतिवडा ३३ हजार ५ सय ५६ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका यज्ञराज सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गर्नुभयो । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव पुनः निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीलाई पाराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । पूर्व वन तथा वातावरणमन्त्री समेत रहनुभएका यादवलाई नेकपा एमालेले समर्थन गरेको थियो । यादवले २२ हजार ५ सय ३७ मत पाउँदा द्विवेदीले २० हजार ९ सय १७ मत प्राप्त गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्ट निर्वाचित हुनुभएको छ । विष्टले नेकपा (एकीकृत समाजवादी) का सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गर्नुभएको हो । विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गर्दा झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गर्नुभएको हो । नेकपा माओवादी केन्द्रका लेखनाथ दाहालले २७ हजार ५ सय १७ मत सहित जित हात पार्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका मनोजजङ्ग थापाले २१ हजार ६ सय ८७ मत प्राप्त गर्नुभएको छ ।

सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ । आज बिहान सकिएको मत गणनामा थानीले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बीसीलाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गर्नुभएको हो । थानीले ३४ हजार ६ सय २५ मत प्राप्त गर्दा एमालेका बीसीले २९ हजार ५ सय ५८ मत प्राप्त गर्नुभएको छ । सुर्खेत १ मा भने मतगणना जारी रहेको छ । अछाम क्षेत्र नम्बर १ को प्रतिनिधि सभाको मत गणनाको कार्य सम्पन्न भएको छ । क्षेत्र नम्बर १ मा नेकपा एसका शेर बहादुर कुँवर विजयी हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू