अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०५ | Colorodo: 12:20

काठमाडौँमा कलिङ्ग साहित्यिक महोत्सव सुरु

बिआरटीनेपाल २०७९ असोज २९ गते १४:४७ मा प्रकाशित

काठमाडौँ । ‘कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँ’ यती बेला ललितपुरमा भइरहेको छ । यो महोत्सव शनिवार बिहानबाट ललितपुरको हिमालय होटेलमा सुरु भएको हो । आइतबार बेलुकासम्म चल्ने महोत्सवको शनिवार बिहान नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, भारतीय विष्ट कवि अशोक वाजपेयी, संस्कृतिविद् तुलसी दिवस, वरिष्ठ कथाकार माया ठकुरी, अग्रज पत्रकार कनकमणि दीक्षितलगायतले उद्घाटन गरे ।

उद्घाटन पछि महोत्सवमा दुई वटा छुट्टा छुट्टै हलमा शनिवार विभिन्न विषयमाथि १७ वटा सेसनहरू चल्यो । ती सेसनमा नेपाल र भारतका कवि, आख्यानकार, नाट्यकर्मी, चलचित्रकर्मी, लेखक, भाषाविद्, संस्कृतिविद्हरूले आ आफ्नो विचारहरू व्यक्त गरे । महोत्सवमा आइतबार पनि बिहानबाट साँझसम्म विभिन्न विषयमा अन्तरक्रिया तथा अन्य कार्यक्रमहरू सञ्चालन हुने छन् ।

महोत्सवमा नेपाल र भारतका गरेर दुई सय भन्दा बढी वक्ताहरूले विभिन्न सेसनमा आफ्ना विचारहरू राखिरहेका छन् । महोत्सवमा अशोक वाजपेयी, सुधीर चन्द्र, मृदुला गर्ग, अरुण कमल, रञ्जित रे, आनन्द नीलकण्ठसहित ७० जना भन्दा बढी स्रष्टाहरू सहभागी छन् । उनीहरूले आफ्ना विद्धता पनि अन्तरक्रियामा प्रस्तुत गर्दै आएका छन् ।

उद्घाटन समारोहमा विभिन्न अतिथि स्रष्टाहरूले महोत्सवको प्रभावबारे आफ्ना भनाई राखे । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले हाम्रो विभिन्न सभ्याताहरु लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरे । एक समयका भारतको सरस्वती नदी सभ्यता लोप भएको उदाहरण दिँदै हाम्रो बागमती सभ्यता जोगाउन उनले आग्रह गरे । यो महोत्सवलाई नेपाल र भारतको साहित्य विकाशको लागि कोसेढुँगाको रूपमा आफूले लिएको उपकुलपति गुरुङको कथन थियो ।

अग्रज कवि तथा संस्कृतिविद् तुलसी दिवसले नेपाल भारतको सम्बन्धमा यो महोत्सवले साहित्य, संस्कृति, र कला मार्फत नयाँ आयाम थप्ने बताए । महोत्सवले नेपाल र भारतका साहित्यकारलाई अझ नजिक ल्याई थप चिनाउने काम गरेको पनि उनले कार्यक्रममा बताए ।

भारतका वरिष्ठ कवि एवम् साहित्यकार अशोक वाजपेयीले हाम्रो साहित्यसँगै भाषा संस्कृति पश्चिमाबाट अतिक्रमण हुँदै आएको बताए । कवि वाजपेयीले साहित्यले समाजलाई धेरै कुरा सिकाउने भएकाले साहित्य सृजनामा निरन्तर लाग्न स्रष्टाहरूलाई अनुरोध गरे । उनले साहित्यलाई हरित रूपमा व्याख्या गर्दै यो साहित्यिक महोत्सवले साहित्यकारमा ऊर्जा थप्ने विश्वास लिएको छु भने । दक्षिण एसियाको भाषा घुलमिल भएर अपभ्रम भएको जनाउँदै ठुलो जमातले बोल्ने भाषाले साना जमातको भाषालाई अतिक्रमण गरेको उनले जिकिर गरे ।

महोत्सवका संस्थापक अध्यक्ष रश्मीरञ्जन परिताले भारतमा दसौँ संस्करण पुरा गरेपछि यस पटकबाट अन्तर्राष्ट्रिय रूपमा आयोजना गरेको हो भने, ‘यस पटक अन्तर्राष्ट्रिय रूपमा आयोजना गरेर हामीले भारत र नेपालका साहित्यकाहरुलाई एकै थलोमा ल्याएर दुई देशको संस्कृति भाषा साहित्यबारे बहस गरेका छौँ । यो सहयोगका लागि नेपालका आयोजक साथीहरूलाई धन्यवाद ज्ञापन गर्दछु ।’

कथाकार माया ठकुरी, पत्रकार कनकमणि दीक्षितले पनि महोत्सवले नेपाल भारत दुवै देशको साहित्य क्षेत्रमा टेवा पुग्ने विश्वास सो कार्यक्रममा व्यक्त गरे । महोत्सव निर्देशक रञ्जना निरौलाले यस पटकबाट यो महोत्सव अन्तर्राष्ट्रिय रूपमा आयोजना भएको कार्यक्रममा बताइन् । यो महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, हिमालयन डायरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान र नेपाल कलिङ लिटरेचर फेस्टिभलको सहकार्यमा आयोजना भइरहेको पनि उनले जानकारी गराइन् ।

यो वर्षबाट सुरु भएको यशस्वी साहित्य सम्मान नेपालबाट वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी र भारतबाट वरिष्ठ कवि अशोक वाजपेयीलाई सो कार्यक्रममा प्रदान गरियो । सम्मानको राशि जनही ५० हजार रुपैयाँ र सम्मान पत्र रहेको थियो । हाल बिरामी रहेका संस्कृतिविद् सत्यमोहन जोशीको कार्यक्रममा स्वास्थ्य लाभको कामना पनि गरियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू