अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 16:53

आवधिक निर्वाचनले लोकतन्त्रलाई मजबुत, सक्षम र सबल बनाउँछ : प्रम देउवा

बिआरटीनेपाल २०७९ असोज १८ गते १९:५१ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

नेपालीहरूको महान् चाड बडादशैं २०७९ को अवसरमा शुभकामना दिँदै उहाँले सरकारको यो प्रयासमा सबै राजनीतिक दल, आम नागरिक सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभएको छ । आवधिक निर्वाचनले लोकतन्त्रलाई मजबुत, सक्षम र सबल बनाउने उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले ताजा निर्वाचनबाट सरकार गठन भएपछि संविधानमा उल्लेख भएका नीति तथा कार्यक्रमहरू थप प्रभावकारी ढङ्गले कार्यान्वयन भई मुलुकमा जनताको चाहना र अपेक्षा बमोजिम विकास र समृद्धिका कार्यहरूले गति लिने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले नेपालीहरूको महान् चाड बडादशैंको अवसरमा शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले चाडपर्व समाजका अमूल्य सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै धार्मिक सांस्कृतिक चाडपर्वहरूले हाम्रो समाजलाई गतिशील, जीवन्त र एकताबद्ध बनाउने बताउनुभएको छ । साथै उहाँले समाजलाई सत्य धर्म, न्याय र सदाचारको मार्गमा अघि बढाउन हामीलाई प्रेरणा प्रदान गर्दै आएका चाड पर्वलाई शिष्ट र संयमित रूपमा मनाउँदै हाम्रो सांस्कृतिक परम्परा तथा मूल्य मान्यतालाई अक्षुण्ण र जीवन्त राख्न सबैमा आग्रह गर्नुभएको छ ।

उहाँले कोभिड– १९ को संक्रमण कायमै रहेको र डेंगुको प्रकोप बढ्दै गइरहेको वर्तमान सन्दर्भमा स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डहरूलाई समेत पालना गर्दै आवश्यक सजगता र सतर्कतासहित चाडपर्वहरू मनाउन सबैलाई अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू