अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

सत्ता गठबन्धनमा टिकट बाँडफाँटको सकस,आज बस्ने बैठकले सहमतिको टुंगो लगाउने विश्वास

बिआरटीनेपाल २०७९ असोज १८ गते १९:४५ मा प्रकाशित

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ताको समय नजिकिए पनि सत्ता गठबन्धनमा टिकट बाँडफाँटको टुंगो लाग्न सकेको छैन ।

गठबन्धनको बालुवाटारमा बसेको मंगलवारको बैठक पनि निष्कर्षविहीन भएको छ। बैठकले अन्तिम सहमति गर्ने तयारी गरेको भए पनि निचोडमा नपुगेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिनुभयो । उहाँले बैठकमा गहन छलफलहरु भए पनि अन्तिम सहमतिमा भने पुग्न नसकेको बताउनुभयो । अर्को बैठक आज पुनः बस्ने र उक्त बैठकले सहमतिको टुंगो लगाउने गुरुङको भनाइ थियो ।

मंगलवार बालुवाटारमा गठबन्धनको बैठक बस्नुअघि नेताहरुबीच अनौपचारिक रुपमा छलफल भएको थियो। यसअघि बिहीवारको बैठकमा नेपाली कांग्रेसका नेता तथा टिकट बाँडफाँट कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले भागण्बण्डाको प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावमा जनता समाजवादी पार्टी (जसपा) ले असन्तुष्टि जनाएको थियो । त्यसलगत्तै जसपाले कार्यकारिणी बैठकबाट गठबन्धन बाहिरका दलहरुसँग पनि चुनावी तालमेल गर्ने निर्णय गरेको थियो।

सिटौलाले कांग्रेसलाई ८५/८७, माओवादी केन्द्रलाई ४५/५०, एकीकृत समाजवादीलाई १७, जसपालाई १५ र जनमोर्चालाई २ सिट दिने प्रस्ताव गर्नुभएको थियो ।

संघको टिकटमा भन्दा पनि प्रदेशको टिकटका लागि गठबन्धनमा सहमति हुन नसकेको नेताहरुले बताएका छन्। जसपाले मधेश प्रदेशमा फेरि पनि आफ्नै पार्टीको नेतृत्वको सरकार बन्नुपर्ने अडान लिएपछि गठबन्धनमा तिक्तता देखिएको हो।

निर्वाचन आयोगले असोज २३ गते मनोनयनका लागि समय तोकेको छ। त्यसअघि नै सहमतिको खाका बनाउन गठबन्धन जुटिरहेको भए पनि सफल भने हुन सकिरहेको छैन। सिट बाँडफाँटका लागि साउन २० गते नै ११ सदस्यीय कार्यदल गठन भएको थियो। उक्त कार्यदलले लगातार गृर्हकार्य गरिहरेको भए पनि टुंगोमा भने पुग्न सकिरहेको छैन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू