अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१८ | Colorodo: 00:33

ईंग्लिस प्रिमियर लिगमा चेल्सीको पुनरागमन जित : लिभरपुल र ब्राइटनले बराबरी खेले

बिआरटीनेपाल २०७९ असोज १६ गते १:४८ मा प्रकाशित

ईंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो ।

खेलको सातौं मिनेटमा ओड्सोने एडोवार्डले गोल गर्दै क्रिस्टललाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको ३८ औं मिनेटमा पिएरे एमरिक अबमेयाङले गोल गर्दै चेल्सीलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ९० औं मिनेटमा कोनोर गल्लाघेरले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए । जितसँगै चेल्सीले ७ खेलमा १३ अंक जोडेको छ । चेल्सी पाँचौं स्थानमा उक्लिएको छ । क्रिस्टल ६ अंकका साथ १७ औं स्थानमा छ ।

त्यस्तै अर्को खेलमा लिभरपुल र ब्राइटनले ३–३ गोलको बराबरी खेलेका छन् । लिभरपुलका लागि रोबर्टो फिर्मिन्होले दुई गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो । ब्राइटनका लिन्ड्रो ट्रोसार्डले ह्याट्रिक गरे ।

यस बराबरीसँगै ब्राइटनले ७ खेलमा १४ अंक जोडेको छ । ब्राइटन चौंथो स्थानमा रहेको छ । लिभरपुल १० अंक जोडेर नवौं स्थानमा रहेको छ ।

हिजो भएको पहिलो खेलमा आर्सनलले टोटनहमलाई ३–१ गोलले हरायो । आर्सनल ८ खेलमा २१ अंकसहित शीर्षस्थानमा कायमै छ । अरु खेलमा न्यूक्यासलले फुलहमलाई ४–१ गोलले, एभर्टनले साउथह्याम्पटनलाई २–१ गोलले र वेस्टह्यामले उल्भ्सलाई २–० गोलले हराएको छ । बर्नमाउथ र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू