अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 10:33

आसन्न चुनावमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन माओवादी अध्यक्ष प्रचण्डको अपील

बिआरटीनेपाल २०७९ असोज १५ गते २०:०३ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दशैं, तिहार, छठ, नेपाल संवत्, ल्होसार लगायतका पर्वको शुभकामना दिँदै आसन्न चुनावमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गर्नुभएको छ ।

आइतवार बिहान शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले देशको भाषा, संस्कृति र सभ्यताहरूको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु सबैको दायित्व रहेको उल्लेख गर्नुभएको छ ।

‘दशैं, तिहार, छठ, नेपाल संवत्, ल्होसार लगायतका चाडपर्वहरूको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक हो । हामी नेपालीहरुको मौलिक विशेषता भनेकै विविधतामा एकता हो,’ शुभकामना सन्देशमा उल्लेख छ ।

उहाँले हाम्रा सांस्कृतिक पर्वहरूले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘हाम्रा सबै प्रमुख चाडहरूका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरू छन् । देशको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु हामी सबैको दायित्व हो,’ सन्देशमा उल्लेख छ, ‘सांस्कृतिक पर्वहरूको शृंखलाभित्र अब हामी प्रादेशिक र संघीय निर्वाचनको संघारमा पनि छौं । आगामी मंसिर ४ गते हुन गइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’

असत्य माथिको सत्यको विजयका रूपमा मनाइने नेपाली सांस्कृतिक पर्वहरूले सबैमा उत्साह, उमंग र राष्ट्रियताको जगेर्ना गर्ने उत्प्रेरणा पैदा गरोस् भनी अध्यक्ष दाहालले शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू