अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२४ | Colorodo: 08:39

किरणको कप्तानीमा नेपालले बङ्ग्लादेशसँग खेल्ने

बिआरटीनेपाल २०७९ असोज १० गते ६:५० मा प्रकाशित

भाेलि मङ्गलवार हुने बङ्ग्लादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालकाे कप्तानी किरण चेम्जोङले गर्ने भएका छन् । आज सोमवार अखिल नेपाल फुटबल सङ्घमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा बङ्ग्लादेशसँगको मैत्रीपूर्ण खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने जानकारी दिइएको हो । त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा हुने खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको छ । खेल दशरथ रङ्गशालामा मङ्गलवार बेलुकी ५ बजे हुनेछ ।

सोमवार भएको प्रिम्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंसँगै कप्तानका रूपमा किरण उपस्थित थिए । पछिल्लो पटक किरणले दशरथ रङ्गशालामै मरिसससँग दुई वटा मैत्रीपूर्ण खेलमा कप्तानी गरेका थिए । कप्तानको जिम्मेवारीमा फर्किँदा उत्साहित हुँदै किरणले बङ्ग्लादेशसँगको खेल उत्कृष्ट हुने दाबी गरे  । पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका प्रदीप हुमागाईं नेपाललाई सुखद नतिजा दिलाउँदै दशैँ विशेष बनाउने सुनाए । उनले नेपाली टोलीको तयारी राम्रो भएको पनि बताए ।

यसअघि एसिया कप छनोटमा टोलीका सिनियर खेलाडी टोलीबाहिर रहँदा नवयुग श्रेष्ठ र पुजन उपरकोटीले कप्तानी गरेका थिए । तर दुवै खेलाडी बङ्ग्लादेशसँगको मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश छैनन् । नेपाल र बङ्ग्लादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी  २४ पटक प्रतिस्पर्धा भएको छ । जसमा बङ्ग्लादेशले १२ खेल जितेको छ भने नेपालले सात खेल मात्रै जितेको छ । पाँच खेल बराबरीमा सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू