अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 07:41

मनास्लु हिमालमा हिमपहिरो : १५ जनालाई उद्धार गरी तेस्रो शिविरमा लगियो, खराब माैसममा हेलिकप्टर जान सकेन

बिआरटीनेपाल २०७९ असोज १० गते ६:३९ मा प्रकाशित

मनास्लु हिमालमा साेमवार बिहान गएको हिमपहिरोमा फसेकाहरूको उद्धार कार्यमा खराब मौसमका कारण समस्या भएको छ । हिमपहिरोमा परेकामध्ये १५ जनालाई उद्धार गरी तेस्रो शिविरमा ल्याइएको र त्यहाँबाट उद्धार गर्न खराब मौसमका कारण समस्या भएको पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखाका प्रमुख युवराज खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिमपहिरो गएको ठाउँबाट उद्धार गरेर तेस्रो शिविर पुर्‍याइएका १५ जनामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई लिन जान हेलिकप्टरले बारम्बार प्रयास गरे पनि खराब मौसमका कारण सम्भव भएको छैन । उद्धारका लागि तीन वटा हेलिकप्टर र उद्धारकर्मीहरू सामा गाउँमा तयारी अवस्थामा रहेका उहाँले बताउनुभयो । तेस्रो शिविरमा हिमपहिरोको जोखिम नभएको र प्राथमिक उपचार तथा खान बस्नको व्यवस्था छ । तर थप उपचारका लागि उद्धार आवश्यक रहेको पर्यटन विभागले जनाएको छ ।

यसैबीच आजै मनास्लु हिमालमा एक जना विदेशी नागरिक हराएका छन् । तर उनी हिमपहिरोमा परेर नभइ ‘स्की’ खेल्ने क्रममा खोँचमा फसेर हराएका पर्यटन विभागका निर्देशक खतिवडाले बताउनुभयो ।

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद् ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् । यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल आरोहणका लागि ५८ आरोही समूहका पाँच सय ६ जनाले आरोहण अनुमति लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू