अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०१ | Colorodo: 02:16

राष्ट्रपतिको कदम गैरसंवैधानिक : गृहमन्त्री खाँण

बिआरटीनेपाल २०७९ असोज १० गते ६:०० मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुई पटकसम्म पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगरी थन्क्याउनु राष्ट्रपति विद्यादेवी भण्डारीको गैरसंवैधानिक कदम भएको बताउनुभएको छ । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ भैरहवामा नेपाली कांग्रेसले स्थापना गरेको सम्पर्क कार्यालय सोमबार उद्घाटन गर्दै गृहमन्त्री खाँणले नागरिकता विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण नहुनु राष्ट्रपतिको अलोकतान्त्रिक कदमसमेत भएको आरोप लगाउनुभयो । ‘सरकारले संविधानको पालना गर्दै पहिलोपटक राष्ट्रपतिबाट फिर्ता भएको विधेयक दुवै सदनमा छलफल गराई पास गरेर पुनस् प्रमाणीकरणका लागि पठाएको हो,’ उहाँले भन्नुभयो, ‘फेरि पनि प्रमाणीकरण नहुनु राष्ट्रपतिको अलोकतान्त्रिक कदममात्रै नभएर नागरिकता पाउने नेपालीको नैसर्गिक अधिकारमाथिसमेत कुठाराघात भएको छ ।’

राष्ट्रपतिजस्तो सम्मानित संस्थाले संविधानविपरीत काम गर्नु मुलुकको लोकतान्त्रिक व्यवस्था र नागरिकले प्राप्त गरेको उपलब्धि माथिको प्रहारसमेत भएको मन्त्री खाँणको भनाई थियो । संविधानभन्दा माथि कोही पनि हुन नसक्ने र संविधानको पालना गर्नु सबैको दायित्व र जिम्मेवारी भएको उहाँले बताउनुभयो । असंवैधानिक कदमले विधि, लोकतान्त्रिक मूल्य, मान्यतालाई कमजोर बनाउने दाबी खाँणको छ । राष्ट्रपतिले उठाएका कतिपय विषय संविधान संशोधनबिना परिवर्तन गर्न सम्भव नभएकाले प्रमाणीकरण नगर्नुको कारण भए संविधानको धारा, उपधारासमेत उल्लेख गर्न मन्त्री खाँणले राष्ट्रपतिलाई चुनौती दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू