अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२६ | Colorodo: 11:41

”बाबुरामसँग मिलेर देशलाई समाजवादको नयाँ ‘मोडेल’ दिन्छौं”- प्रचण्ड

बिआरटीनेपाल २०७९ असोज ८ गते ५:५३ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वको टिम हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य चुनावसम्म मात्रै नभई धेरै लामो हुने बताउनुभयो । आफूहरु एक्लाएक्लै हिँड्दा केही वर्षयता सफलता हात नपरेको उल्लेख गर्दै उहाँले अब देशमा फेरि समृद्धिको, विकासको समाजवादको नयाँ मोडल तयार पार्ने संकल्पसहित आफूहरु सहकार्यमा आएको पनि स्पष्ट पार्नु भयो ।

नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार  काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले मुलुकको समृद्धिको नयाँ समाजवादी मोडल बनाएर मात्रै आफूहरुले मर्न चाहेको उल्लेख गर्दै त्यो संकल्प पूरा गर्ने काममा साथ दिन पनि नेपाली जनतालाई आह्वान गर्नु भयो ।

अध्यक्ष दाहालले भन्नु भयो, ‘हामीले समाजवादको लागि एउटा नयाँ जनयुद्ध नयाँ खालको गोरेटो कोर्ने संकल्प गरेपछि अनि हामी अब एकैठाउँमा केन्द्रित हुने हो । चनाव आइनै हाल्यो । चुनावमा त हामी आ–आफ्नो पार्टी भन्दै तर एउटै चुनाव चिन्हबाट जाने निर्णय पनि यो चुनावका लागि मात्रै गरिएको निर्णय होइन । तपाईहरुलाई के नलागोस् भने यो दुईटा बसेर चुनावका लागि मात्रै गरे । तर, यसको लागि मात्रै गरिएको छैन । यो त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको हो । र, यो देशलाई फेरि एकचोटी समृद्धिको, विकासको, समाजवादको एउटा नयाँ मोडल हामीले नै दिनुपर्ने हुन्छ, हामीले नै दिन्छौुं, उहाँले भन्नुभयो ,किनभने यो परिवर्तनको बाहक हुनुको नाताले, त्यसको नेतृत्वको टिम हुनुको नाताले हामीले त्यसको जियोमेट्रीकल्ली निकै ठूलो हुन्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं । र, हामी हिजो पनि एकअर्काको पूरक भएर हामीले आन्दोलनलाई यहाँसम्म ल्याएको हो । बानी, व्यहोरा र स्वभावको हिसाबले बाबुरामजीको र मेरो धेरै मिल्दैन । तर फेरी हामी दुईटा एकठाउँमा हुँदा एकको अभाव अर्कोले पूर्ति गरिदिने, अर्कोको अभाव अर्कोले पूर्ति गरिदिने एउटा ठूलो शक्ति र तागत भएको थियो ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका आफूहरुले नयाँ समाजवादी मोेडेल तय गरी देशलाई समृद्ध बनाउन पनि सफल हुने जिकीर गर्नु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू