अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

इंग्ल्यान्डमाथि पाकिस्तान १० विकेटले विजयी

बिआरटीनेपाल २०७९ असोज ७ गते ५:३४ मा प्रकाशित

घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको दोस्रो टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा जित हात पारेको छ । कराँचीमा बिहीबार राति पाकिस्तानले भ्रमणकारी टोलीलाई १० विकेटले पराजित गरेको हो ।यस जितसँगै इंग्ल्यान्डविरुद्ध घरेलु टोलीले ७ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ ।

इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य घरेलु टोलीले १९ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।पाकिस्तानका लागि मोहम्मद रिजवानले अविजित १ सय १० र बाबर अजामले अविजित ८८ रन बनाए।त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोली इंग्ल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि कप्तान मोईन अलिले अविजित ५५, बेन डुकेटले ४३, ह्यारी ब्रुक्सले ३१, फिलिप साल्टले ३०, एलेक्स हेल्सले २६ तथा साम करनले अविजित १० रन बनाए ।घरेलु टोलीका लागि हरिस राउफ र शाहनवाज दहानीले समान २/२ तथा मोहम्मद नवाजले १ विकेट लिए । दुई टोलीबीचको तेस्रो टी–ट्वान्टी आज शुक्रबार हुनेछ ।

प्रतिक्रिया