अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 02:48

महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली महिला टोलीलाई सरकारले पुरस्कृत गर्ने

बिआरटीनेपाल २०७९ असोज ४ गते ७:२२ मा प्रकाशित

छैटौं महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई सरकारले पुरस्कृत गर्ने भएको छ ।युवा तथा खेलकुद मन्त्रालयले हालै बनाएको खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिमा दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण, रजत र कांस्य विजेताका लागि निश्चित पुरस्कारको व्यवस्था छ ।२०७२ सालमा बनेको कार्यविधि २०७६ सालमा संशोधन भएको थियो । यी दुवैमा नसमेटिएको दक्षिण एसियाली प्रतियोगितासहित अन्य पुरस्कार व्यवस्था भने नयाँ कार्यविधिमा रहेको छ । नयाँ कार्यविधि मन्त्रिपरिषदबाट पारित भएपनि राजपत्रमा प्रकाशित भइसकेको छैन ।

मन्त्रीपरिषद् बाट पारित भएकाले यो कार्यविधिमा आधारित रहेर नै फुटबल खेलाडीले पुरस्कार पाउने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । एक साताभित्र राजपत्रमा प्रकाशित हुने र हाललाई त्यसमा नै आधारित रहेर पुरस्कार घोषणा गर्ने मन्त्रालयको तयारी छ ।नयाँ पुरस्कार कार्यविधिअनुसार सामुहिक खेलतर्फ फुटबलको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण÷उपाधि जित्ने टिमका खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए । तर फाइनलमा पराजित भएपछि उपविजेता बनेको टिमको हरेक खेलाडीले जनही ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

उपविजेता टोलीका प्रमुख प्रशिक्षकले २ लाख र सहायक प्रशिक्षक, फिजियो वा चिकित्सकले १ लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् । उपविजेता बन्न सफल टोलीको खेल संघको रुपमा अखिल नेपाल फुटबल संघले २ लाख रुपैयाँ पुरस्कार पाउने छ । यसअघिको २०७२ सालमा बनेको कार्यविधिलाई २०७६ सालमा संशोधन गर्दा दक्षिण एसियाली खेलकुद र क्रिकेटका विभिन्न प्रतियोगितालाई मात्र समावेश गरिएको थियो ।

मन्त्रालयले यसपटक भने विभिन्न दक्षिण एसियाली, एसियाली र ओलम्पिकमा पदक प्राप्त गर्नेलाई समेट्दै कार्यविधिमा पुरस्कार निर्धारण गरेको छ । खेलकुद ऐनको नियमावलीमै समावेश गरेर पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू