अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०९ | Colorodo: 13:24

पत्रकारद्वय धमला र सुबेदीलाई यमन इन्टरटेन्मेन्टको सम्मान

बिआरटीनेपाल २०७९ भदौ २५ गते १०:४० मा प्रकाशित

काठमाडौँ । नेपाली मनोरञ्जनको क्षेत्रमा विविध क्रियाकलापका साथ सक्रिय यमन इन्टरटेन्मेन्ट प्रा.लि.ले पत्रकारद्वय ऋषि धमला र प्रकाश सुबेदीलाई सम्मान गरेको छ । गीतकार निर्मला थपलियाद्वारा लिखित गीति सङ्ग्रह ‘सपनाको संसार’को लोकार्पण तथा सोही गीति संग्रहमा सङ्गृहीत ‘आमा’ बोलको गीतको भिडियो सार्वजनिक समारोहमा पत्रकारद्वय धमला र सुबेदी सम्मानित भएका हुन् ।

सार्वजनिक गरिएको भिडियोको गीतमा ताराबीर पाण्डेको सङ्गीत तथा प्रमोद खरेलको स्व रहेको छ । सङ्गीतकार पाण्डेले नै निर्देशन गरेको भिडियोमा सरिता लामिछाने, एलेक्स खड्का, ड्रिम दुलाल, मौसम खड्का र सरु पुरीको मर्मस्पर्शी अभिनय समेटिएको छ भने ज्ञानेन्द्र शर्मा हुमागाईको छायाङ्कन रहेको छ ।

उक्त समारोहमा भिडियो हेरेका सबैले गीत, सङ्गीत, स्वर तथा भिडियोको खुलेर तारिफ गरेका थिए । सम्मानित पत्रकार धमलाले आफू ७ वर्षको हुँदा आमा गुमाएको स्मरण गर्दै आमा बोलको भिडियो विमोचन समारोहमा सम्मानित हुन पाउँदा अत्यन्तै गौरवको महसुस भएको बताएका थिए भने सुबेदीले पनि आमा शब्दभित्र सम्पूर्ण संसार रहेको बताएका थिए ।

आफ्नो प्रतिक्रिया दिने क्रममा धमला र सुबेदीले एकले अर्काको प्रशंसा गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि रहेका वरिष्ठ कवि तथा गीतकार अमर बान्तुले उद्घाटन पश्चात् शिव ताण्डव वाचन गर्दा माहौल रोमाञ्चक बनेको थियो । प्रमुख अतिथि बान्तुले गीतकार थपलियाले लेखेका विभिन्न गीतहरू वाचन गर्दै उनको उज्ज्वल भविष्यको कामना गरेका थिए ।

सञ्चारकर्मीहरूको समेत बाक्लो उपस्थिति रहेको कार्यक्रममा गायक प्रमोद खरेल, गायिका प्रविशा अधिकारी लगायतका चर्चित कलाकारहरूको उपस्थिति रहेको थियो भने विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यमन इन्टरटेन्मेन्टकी सञ्चालिका पारिजात बरालको सभापतित्वमा भएको कार्यक्रम गायक, सङ्गीतकार तथा भिडियो निर्देशक पाण्डेले नै सञ्चालन गरेका थिए ।

प्रतिक्रिया