अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०८ | Colorodo: 12:23

कोलोराडोमा रविन शर्मा साङ्गीतिक साँझ सम्पन्न

बिआरटीनेपाल २०७९ भदौ २१ गते २२:५६ मा प्रकाशित

कोलोराडो । गत शनिवार कोलोराडोको ब्रुमफिल्डमा नेपाली भाषा पाठशालाको सहयोगार्थ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाले नेपाली साङ्गीतिक क्षेत्रको तीन चिरपरिचित गायकहरू रविन शर्मा, रिमा गुरुङ होडा र विजय अधिकारीको प्रस्तुति रहेको ‘रविन शर्मा साङ्गीतिक साँझ’ कार्यक्रमको आयोजना गर्‍यो । ब्रुम्फिल्ड स्थित ब्रुम्फिल्ड अडिटोरियममा आयोजना गरिएको उक्त कार्यक्रमलाई स्थानीय दर्शकहरूले राम्रो साथ दिएका थिए । कार्यक्रमका मुख्य आकर्षण वरिष्ठ गायक रविन शर्माले ‘हर्षले मन मेरो’, ‘जुनी जुनीलाई’, ‘तिमी यसै लजायौ’, ‘मनका सबै बोझहरू’, ‘कुन मन्दिरमा’, ‘ऐनै ऐनै पो रहेछ’, ‘आफैँलाई भार भयो’ जस्ता आफ्ना सदाबहार गीतहरूको साथमा पछिल्लो समय रेकर्ड गरिएको ‘ल्याएको छु मैले तिम्रो’ बोलको गीत सुनाएका थिए । यसै गरी लोकप्रिय गायिका रिमा गुरुङ होडाले ‘आँखाका जोर’, ‘कसको आँखा लाग्यो बरै’, ‘तिमी हाँसे पो’, ‘लाउरे दाइले’ जस्ता चर्चित गीतहरू गाएकी थिइन् । कार्यक्रमको पछिल्लो चरणमा गायक रविन शर्मा र रिमा गुरुङ होडाले ‘तिमी नहुँदा’ र ‘फूल झरे पनि’ बोलको युगल गीत गाउँदा उपस्थित दर्शकहरू मन्त्रमुग्ध भएका थिए । पप गायक विजय अधिकारीले सपनीमा ‘तिमी आउने भए’, ‘सिकिरहेछु सिकिरहेछु’, ‘तिमी नै मेरो संसार’ बोलको आफ्ना गीतहरू र दीप श्रेष्ठद्वारा गाइएको ‘हुँ यात्री’ बोलको गीत गाएका थिए ।

कार्यक्रममा स्थानीय बालकलाकारहरु दिलासा कार्की, विभूति अधिकारी र प्रियङ्का श्रेष्ठको नृत्य पनि समावेश थियो । प्रियङ्का श्रेष्ठले ‘किनिदेओ न साइला दाइ’, विभूति अधिकारीले ‘पाउमै पाउजु’ र दिलासा कार्कीले ‘गैह्री खेतको’ बोलको गीतमा नृत्य प्रस्तुत गरेर उपस्थित दर्शकहरूको वाहवाही लुटेका थिए । कार्यक्रममा उपस्थित संस्थाहरूका प्रतिनिधिहरू, कलाकार र दर्शकहरूलाई स्वागत गर्ने कार्य अनेसास, कोलोराडो शाखाको उपाध्यक्ष सम्झना आचार्यले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन अनेसास, केन्द्रीय सदस्य तारा अधिकारी र अनेसास, कोलोराडो शाखा महासचिव किरण अधिकारीले गरेका थिए । कार्यक्रमबाट सङ्कलित सबै रकम कोलोराडोको नेपाली भाषा पाठशालाको सहयोगार्थ प्रयोग गरिने जानकारी अनेसास, कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले दिएका थिए । जुन देखि अगस्त २०२२ सम्म सञ्चालन गरिएको भाषा पाठशालाको पहिलो सत्रमा ४ देखि १२ वर्षका ४२ विद्यार्थीले अध्ययन गरेको जानकारी बिआरटीनेपाल सम्वाददातालाई दिइएको थियो ।

 

प्रतिक्रिया