अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५० | Colorodo: 19:05

निर्वाचनबारे मतदातालाई सूचित गर्न सूचना आयोगको सुझाव

बिआरटीनेपाल २०७९ भदौ १८ गते ४:१९ मा प्रकाशित

राष्ट्रिय सूचना आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, पारदर्शी, जिम्मेवार बनाउन तथा मतदाताले अधिकतम जानकारी पाउने वातावरण बनाउन निर्वाचन आयोगलाई सुझाव दिएको छ ।आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको अध्यक्षतामा यही भदौ १६ गते भएको ३७औँ बैठकले निर्वाचनका लागि उम्मेदवारले पेस गर्ने मनोनयनपत्र तथा संलग्न कागजात सर्वसाधारण मतदातालाई जानकारी गराउन र निर्वाचन सम्पन्न भएपश्चात कानूनबमोजिम उम्मेदवारले पेस गरेको निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न सुझाव दिने निर्णय गरेको हो ।

आयोगका सूचना आयुक्त तथा प्रवक्ता कमला ओली थापाका अनुसार सूचनादाताको संरक्षणसम्बन्धी नियमावलीको मस्यौदा स्वीकृतीको कारवाही अगाडि बढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाउने पनि निर्णय भएको छ । यस्तै, सूचनाको हक कार्यान्वयनसम्बन्धी राष्ट्रिय रणनैतिक योजनामा अन्तिम सुझाव प्राप्त गर्न आयोगको वेबसाइटमा एक महिनाका लागि राख्ने र सम्बद्ध मन्त्रालयको पनि सुझाव लिने आयोगले निर्णय गरेको छ ।

आयोगले नेपाल र बङ्गलादेशका सूचना आयोगबीच भएको आपसी सहयोगसम्बन्धी समझदारीपत्र तथा कार्यान्वयन कार्ययोजना बमोजिमका कार्य अगाडि बढाउने तथा भारत र श्रीलङ्काका सूचना आयोगसँग पनि आपसी सहयोगसम्बन्धी समझदारी गर्न प्रस्ताव गर्ने निर्णय गरेको प्रवक्ता ओलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू