अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५९ | Colorodo: 10:14

कोलोराडोमा नेपाली भाषा पाठशालाको दिक्षान्त समारोह सम्पन्न

बिआरटीनेपाल २०७९ भदौ १४ गते १०:२७ मा प्रकाशित

नर्थग्लेन, कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाले कोलोराडोमा रहेका अन्य नेपाली संस्थाहरूसँगको सहकार्यमा सञ्चालन गरेको नेपाली भाषा पाठशालाको २०२२ गृष्मकालीन कक्षामा अध्ययनरत विद्यार्थीहरूको दिक्षान्त समारोह सम्पन्न भएको छ । जुन ४ देखि अगस्त २७ सम्म सञ्चालित सत्रमा ८ वर्ष भन्दा मुनिका (लालीगुराँस) र ८ वर्ष भन्दा माथिका (सगरमाथा) गरेर दुई उमेर समूह छुट्ट्याइएको थियो । दुवै समूह गरेर ४२ जना विद्यार्थीहरू सहभागी भएका थिए भने पाठशालाका कक्षाहरू हरेक शनिवार दिनको २ बजे देखि ४ बजेसम्म सञ्चालन गरिएको थियो । पाठशाला सञ्चालनमा सहभागी हुने स्थानीय संस्थाहरूमा रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल, नेपाली घर, एनआरएनए कोलोराडो च्याप्टर, दिदीबहिनी समूह कोलोराडो, कोलोराडो नेवा: खल:, ब्लड डोनर्स अफ अमेरिकाका कोलोराडो च्याप्टर छन् ।

दिक्षान्त समारोहको सुरुवात नेपाल र संयुक्त राज्य अमेरिकाको राष्ट्र गानको साथै गणेश बन्दना र सरस्वती बन्दना गाएर गरिएको थियो । कार्यक्रममा विद्यार्थी आँचल सापकोटाले पाठशाला सम्बन्धी आफ्नो अनुभव सुनाएकी थिइन् भने गुरु वर्गको तर्फबाट धन पौडेल र हरिभक्त आचार्यले पनि आफ्नो भनाइहरू राख्नुभएको थियो । यसै गरी डा. शारदा त्रिपाठीले अभिभावकको तर्फबाट आफ्नो अनुभव सुनाउनुभएको थियो । अनेसास, कोलोराडो शाखाको अध्यक्ष राजु सिटौलाले पाठशालाको विविध पक्षबारे जानकारी दिँदै सहभागी र सहयोगी सबैलाई धन्यवाद दिनुभएको थियो । अनेसास बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्माले अनेसास, कोलोराडो शाखाको यो कार्यक्रम गौरव गर्न लायकको भएको र अरू च्याप्टरहरूले पनि यसलाई अगाडि बढाउनु पर्ने बताउनुभएको थियो ।

समारोहमा पाठशालाका गुरुबा गुरुआमाहरूले दीक्षित हुने विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा पाठशालामा निस्वार्थ रूपले शिक्षण कार्यमा संलग्न हुने गुरुबा गुरुआमाहरू हरिभक्त आचार्य, धन पौडेल, प्रतिभा शर्मा, र रन्जु आचार्यलाई सम्मान पत्र प्रदान गरिएको थियो । यसै गरी पाठशाला सञ्चालनमा सहयोग गर्ने स्वयम् सेवकहरूलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्मा, अनेसास केन्द्रीय सदस्य तारा अधिकारी, अनेसास ट्रस्टी सदस्य सम्झना आचार्य, नेपाली घरका उपाध्यक्ष नवराज मरासेनी, महासचिव भोला कटुवाल, पब्लिक रिलेसन अफिसर शिरीष कुँवर; रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका महिला प्रतिनिधि यशोदा भट्ट, एनआरएनए कोलोराडो शाखाको अध्यक्ष आरसी पन्त, उपाध्यक्ष प्रकाश पौडेल, दिदीबहिनी समूहको अध्यक्ष धन पौडेल, कोषाध्यक्ष दिलकुमारी श्रेष्ठ; कोलोराडो नेवा: खल:को महासचिव मनोजकाजी तुलाधर, बिडीए केन्द्रका सह कोषाध्यक्ष तथा कोलोराडो शाखाका संयोजक श्रीराम लुइँटेल; पाठशाला सञ्चालक समिति सदस्य वासुदेव खनाल, सदस्य तथा अनेसास, कोलोराडो शाखा कोषाध्यक्ष विजयदेव अधिकारी, अनेसास कोलोराडो शाखा सचिव लाल चौलागाई उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन अनेसास, कोलोराडो शाखाका महासचिव किरण अधिकारीले गर्नुभएको थियो । पत्रकार नातिबाबु भट्ट र भरत श्रेष्ठले कार्यक्रमको तस्बिर लिनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू