अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३९ | Colorodo: 22:54

रोहिङ्ग्या शरणार्थीलाई म्यानमारमा फिर्ता पठाउन सकिएन : राष्ट्र सङ्घ

बिआरटीनेपाल २०७९ भदौ २ गते ८:३९ मा प्रकाशित

शरणार्थी जीवन बिताइरहेका रोहिङ्ग्याहरुलाई आफ्नै ठाउँमा फिर्ता पठाउन नसकिएको संयुक्त राष्ट्र सङ्घीय निकायले जनाएको छ ।संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अधिकार प्रमुख मिचेल बाचेलेटले असुरक्षाको कारण देखाउँदै उनीहरू म्यानमारमा फर्किन नमानेको जानकारी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।रोहिङ्ग्याहरुले अझै पनि आफ्नो ठाउँमा आफूहरु असुरक्षित रहेको बताउने गरेको र फर्किन नमानेको उहाँको भनाइ छ । रोहिङ्ग्याको बस्तीमा झन्डै पाँच वर्ष अगाडि ठूलो हिंसात्मक घटना भएको थियो । पछि उनीहरु भागेर बङ्लादेशका विभिन्न ठाउँमा शरणार्थी भएर बसेका छन् । उनीहरुलाई आफ्नै ठाउँमा फिर्ता गराउन शरणार्थी र म्यानमार सरकारबीच पटक–पटक सम्झौता समेत भएको थियो ।

सम्झौताका लागि भएका वार्तामा राष्ट्र सङ्घीय अधिकारीहरुलाई समेत सहभागी गराइएको थियो । वार्ता र सम्झौताले अहिलेसम्म पनि ठोस निकास दिन नसकेपछि राष्ट्र सङ्घले सरोकारवालाहरुलाई फेरि घच्घच्याएको छ । बङ्लादेशको दक्षिणी क्षेत्रमा झन्डै दश लाख रोहिङ्ग्या शरणार्थीहरु रहेका छन् ।

सन् २०१७ मा जातीय रुपमा विभेदपूर्ण तरिकाले हिंसा भएको उनीहरुको गुनासो छ । म्यानमारमा अहिले सैन्य सरकार छ । राष्ट्र सङ्घका अधिकार प्रमुख बाचेलेटले शरणार्थी शिविरमा रहेका शरणार्थीलाई भेटेपछि बङ्लादेशको ढाकामा गरेको सम्मेलनमा भन्नुभयो ‘शरणार्थीहरु आफ्नो देश फर्किन त चाहन्छन, तर फर्किने अवस्था नरहेको बताएका छन् ।’ उनीहरुलाई फर्काउन र सहमति कार्यान्वयन गराउन राष्ट्र सङ्घ र बङ्लादेशले पहल गर्दै आएका छन् । म्यानमार सरकारलाई फेरि घच्घच्याउनु पर्ने खाँचो रहेको बताउँदै बाचेलेटले त्यसका लागि सबैले अग्रसरता लिनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू