अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०५ | Colorodo: 07:20

कांग्रेसले गरायो निर्वाचन आयोगमा दल दर्ता

बिआरटीनेपाल २०७९ साउन ३१ गते ६:३० मा प्रकाशित

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।मंगलबार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनार्थ आयोगमा पुगेर कांग्रेसले दल दर्ता गरेको हो ।दल दर्ताका लागि कांग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो ।

आगामी निर्वाचनका लागि लगभग सबै दलले निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् । निर्वाचन आयोगले आज ५ बजेसम्मका लागि दल दर्ता गर्नसक्ने बताएको थियो । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलवारसम्म दल दर्ता गर्ने समय दिएको थियो । दल दर्ता गरेपछि सञ्चारकर्मीसँग बोल्दै उपसभापति गुरुङले कांग्रेसले निर्वाचनका लागि अधिकतम सिट खोज्ने तर सहमतिबाट तालमेल गरेर जाने बताउनुभयो । उहाँले सहअस्तित्व र सहकार्यका साथ अघि बढ्ने प्रतिवद्धताअनुसार नै सबैलाई समेट्ने बताउनुभयो ।

सबैलाई समेटेर जाने क्रममा धेर, थोरमा चित्त बुझाउनु पर्ने बताउनुभयो । उहाँले सहमति र सहकार्य बाट नै देशमा राजनीतिक स्थिरता र मुलुकको समुन्नती खोज्ने यात्रामा लाग्ने बताउनुभयो । उहाँले पार्टीभित्र सिट बाँडफाँटमा न्यायोचित व्यवस्थापन गर्ने बारेमा छलफल भइरहेको बताउनुभयो । उहाँले कांग्रेसभित्र धेरै सक्षम नेता भएकोले सबैलाई व्यवस्थापन गर्न गाह्रो भएपनि हेर्दा, देखिँदा र सुन्दा न्यायोचित भएको अनुभुति गराउने प्रतिवद्धता जनाउनुभयो ।

उपसभापति गुरुङले केन्द्रिय पार्टीको केन्द्रिय कार्यसमितिमा १० जना महिला मनोनित गरेको पनि बताउनुभयो । उहाँले माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर नेपाल समाजवादी र राष्ट्रिय एकता अभियानका नेताहरु चुनावमा प्रतिष्पर्धा गर्ने कुराले गठबन्धनको भागबण्डामा असर नपर्ने बताउनुभयो । उहाँले गठबन्धन दल भित्रका दलसँग मिल्न आउने अन्य दलले खासै असर नपार्ने बताउनुभयो । आजबाट आगामी निर्वाचनार्थ आयोगमा दल दर्ताको समय सकिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू