अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 05:25

प्रधानमन्त्री देउवाले श्रीमती र सालाहरुलाई अगाडि सारेर भ्रष्टाचार गरिरहेको अध्यक्ष ओलीको आरोप

बिआरटीनेपाल २०७९ साउन ३१ गते ५:५३ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरु अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाउनु भएको छ ।पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको जिकीर समेत गर्नुभयो ।

मंगलबार काठमाडौंमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृणाभाव जागृत भएको तर्क समेत गर्नुभयो । अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरुले राजनीतिक नगरेको उल्लेख गर्दै त्यसका विरुद्ध लड्न पनि सबैलाई आह्वान गर्नु भयो । राजनीति देशका लागि, जनताका लागि, विश्व शान्ति र मानवजातिको हितका लागि हुनुपर्ने भन्दै उहाँले त्यसको पक्षमा आफूहरु दृढतापूर्वक उभिरहेको दावी समेत गर्नु भयो ।

अध्यक्ष ओलीले राजनीतिमा एकथोपा पनि पसिना नबगाएकाहरुले यसलाई इन्जोय गर्ने माध्यामको रुपमा लिएको टिप्पणी समेत गर्नुभयो । स्वतन्त्रको पहिचान बनाएर राजनीतिमा सहभागी भइरहेकाहरुप्रति संकेत गर्दै उहाँले राजनीतिलाई उनीहरुले रमाइलो गर्ने माध्यमको रुपमा लिएपनि त्यस्तो नभएको बताउनुभयो । अध्यक्ष ओलीले राजनीतिमा सहभागी भएर असाधारण योगदान गरिरहेको भन्दै महिलाहरुको प्रशंशा समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू