अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०७ | Colorodo: 02:22

चारवटै सुरक्षा निकायका प्रमुखहरुसहित केन्द्रीय सुरक्षा समितिकाे बैठक सिंहदरवारमा, निर्वाचन सुरक्षाबारे प्रारम्भिक छलफल

बिआरटीनेपाल २०७९ साउन ३० गते ७:४६ मा प्रकाशित

सरकारले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे प्रारम्भिक छलफल शुरु गरेको छ । सोमबार सिंहदरवारमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे आवश्यक छलफल शुरु भएको हो।

चारवटै सुरक्षा निकायका प्रमुखहरुसहित बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सो निर्वाचनको सुरक्षा तयारीबारे प्रारम्भिक छलफल शुरु गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । उहाँले सो निर्वाचनमा जनशक्ति कति चाहिन्छ ? त्यसका चुनौतिहरु के–के हुन् ? त्यसलाई आँकलन गरेर निर्वाचन सुरक्षा योजना बनाउनुपर्ने भएकाले बैठक सोही विषयमा केन्द्रित रहेको पनि बताउनुभयो ।

केन्द्रीय सुरक्षा समितिले चार वटै सुरक्षा निकायका प्रतिनिधिहरु रहने गरी निर्वाचन सुरक्षा योजना बनाउने गर्दछ । गृह मन्त्रालयका प्रवक्ता पोखरेलले निर्वाचनको चुनौति र त्यसलाई सामना गर्ने उपायहरुको बारे पनि सो समितिले नीति बनाउने हुनाले त्यस सम्बन्धमा पनि बैठकमा छलफल भएको बताउनुभयो ।

बैठकमा गृहसचिव टेकनारायण पाँण्डे, रक्षा सचिव किरण शर्मा, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशष्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीसहितका सुरक्षा अधिकारीहरु सहभागि हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू