अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४९ | Colorodo: 01:04

संसदमा गणपूरक संख्या पुग्न छोडेकोप्रति सभामुख असन्तुष्ट

बिआरटीनेपाल २०७९ साउन ३० गते ६:२१ मा प्रकाशित

सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पारित गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।सोमबार संघीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले पछिल्ला दिन संसदमा गणपूरक संख्या नपुगेकोप्रति असन्तोष व्यक्त गर्नुभएको हो ।पछिल्लो समय संसदमा हाजिर गरेर सांसदहरू बाहिरिने गरेपछि विधेयक पारित गर्न गणपूरक संख्या पुग्न छोडेको छ । आइतबार मात्रै बसेको प्रतिनिधिसभाको बैठकमा समेत विधेयक पारित गर्नका लागि सांसदहरूको गणपूरक संख्या नपुग्दा मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो ।

सभामुख सापकोटाले संसदलाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरू अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरू प्रमाणीकरण र पारित गर्न संसदलाई अफ्ठ्यारो भइरहेको बताउनुभयो ।विधेयक पारित गर्नको लागि धेरै पटक घण्टी बजाउनुपरेको र मन्त्रीहरू बोलाउन कुर्नुपरेको भन्दै सबै सांसद र मन्त्रीहरू जिम्मेवार र गम्भीर हुनुपर्ने बताउनुभयो ।

सभामुख सापकोटाले समितिमा दोहोरपन देखिएको बताउनुभयो । उहाँले समितिले दिएका निर्देशन सरकारले किन लागू गरेन भन्ने भन्दा पनि देशको धरातललाई बुझेर निर्णय भएका हो वा होइनन् भन्ने कुरा स्वयं समितिले आत्मालोचना गर्नुपर्ने बताउनुभयो ।सापकोटाले देशको धरातलीय यथार्थअनुकुल समितिले निर्देशन गरेको छ वा छैन भन्ने कुराको समीक्षा हुन जरुरी रहेको बताउनुभयो । सरकारलाई समितिले आफ्ना निर्देशन लागू गर्न बाध्य पार्ने कुरा भनेको धरातलीय यथार्थ बुझेर जनहीतमुखी निर्देशन हुनुपर्ने बताउनुभयो ।

सभाुमख सापकोटाले सरकार उदियमान व्यवस्थापिकाको पक्षमा रहेको बताउनु भयो । उहाँले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्ने बताउनुभयो । अहिले विश्वव्यापी रूपमा अभिभावक खाँचो भएको जस्तो महशुस भएको बताउनुभयो ।उहाँले अरुले बनाएको विश्व दृष्टिकोणबाट राष्ट्रिय दृष्टिकोण बनाऔंला भनेर बस्ने छुट नरहेको भन्दै आफैँले विश्व दृष्टिकोण निर्माण गर्नुपर्ने बताउनुभयो ।सभामुख सापकोटाले खोज, अनुसन्धान गरेर प्रभावकारी बनाएका कारण अमेरिका, स्वीडेन, जर्मनीका समितिहरु धेरै शक्तिशाली रहेको बताउनुभयो । उहाँले त्यहाँका समितिहरु कानून निर्माणमा असाधारण खोज, अनुसन्धान गरेका कारण शक्तिशाली भएको बताउनुभयो ।

सभामुख सापकोटाले नेपालमा खोज, अनुसन्धान आवश्यक ध्यान नपुगेको बताउनुभयो । उहाँले तथ्यांकहरुको महत्व नबुझ्दा गत वर्ष मेलम्ची र मनाङका विपद्जन्य घटना न्यूनिकरण गर्न नसकेको बताउनुभयो ।सभामुख सापकोटाले अहिले संसदमा तथ्याङ्क विधेयकहरू पास भइरहेको उन्दै तथ्यांकलाई समयमै बुझेर तथ्याङ्क संकलन गर्न आवश्यक रहेको बताउनुभयो । सरकारले बनाएका कानूनको सही कार्यान्वयन भए/नभएको मूल्याङ्कन हुनु जरुरी रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू