अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

शिक्षा प्रणाली राम्रो छैन् भन्ने प्रचार नगर्नुस् : मन्त्री पौडेल

बिआरटीनेपाल २०७९ साउन २८ गते ४:१० मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा प्रणाली राम्रो छैन् भन्ने प्रचार नगर्न आग्रह गर्नुभएकाे छ ।आज शनिबार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितिमा जाने बताउनुभएको छ । उहाँले विभिन्न कारण देखाएर समयमै काम नगर्ने हो भने शिक्षा प्रणाली बेथितिमा जाने बताउनुभएको हो ।

उहाँले नेपालमा साच्चिकै शैक्षिक सुधार गर्न आवश्यक रहेको भन्दै सरकार यसप्रति प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार नहुने भन्दै शैक्षिक सुधारका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने बताउनुभयो । मन्त्री पौडेलले नेपालको शिक्षा प्रणाली राम्रो छैन् भनेर प्रचार नगर्न पनि आग्रह गर्नुभयो ।

उहाँले नेपालको शिक्षा गुणस्तर छैन् भन्ने कुराको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले इच्छाशक्ति भए सबै ठाउँमा शैक्षिक गुणस्तरको सुधार गर्न र विद्यार्थीलाई सक्षम बनाउन सकिने बताउनुभयो । मन्त्री पौडेलले शिक्षा सेवाको क्षेत्र भएकोले सेवासुविधा पाइनँ भनेर पढाउन छोडेर आन्दोलन गर्न जान नमिल्ने बताउनुभयो ।उहाँले देशमा विद्यार्थी केन्द्रित, सक्षम बनाउने गुणस्तरीय शिक्षाको आवश्यक रहेको बताउनुभयो । उहाँले बाहिरबाट एसईईको नतिजा पोजेटिभ देखिएपनि भित्रि पाटोबाट हेर्दा सन्तुष्ट हुने ठाउँ नरहेको दावी गर्नुभयो । मन्त्री पौडेलले नेपालमा शिक्षाको लगानी कम नरहेको भन्दै विद्यार्थीलाई राम्रो शिक्षा दिन विद्यालय शिक्षा नै सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो एसईईको नतिजाले केही कुरामा सुधार गर्न, सिक्न र सच्याउन संकेत दिएको बताउनु भयो । उहाँले अबदेखि नै विद्यालय सुधारमा लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले अहिलेसम्मको कमजोरीलाई मूल्यांकन गरेर शैक्षिक गुणस्तरका लागि अघि बढ्ने दिशामा परीक्षा बोर्ड रहेको बताउनुभयो। उहाँले यसवर्षको एसईईको परीक्षामा गणित विषयमा विद्यार्थीहरुको नतिजा कम आएको र धेरै अनुत्तिर्ण भएको भन्ने कुरा सत्य रहेको भन्दै यसको बारेमा विश्लेषण गर्ने बेला भएको बताउनुभयो । उहाँले नतिजा कमजोर आउनुको वास्तविक कारण पत्ता लगाउने कुरामा परीक्षा बोर्ड लाग्ने बताउनुभयो।

अध्यक्ष शर्माले प्रश्नपत्रलाई टेस्टेड प्रश्नपत्र बनाउन स्तरीकृत परीक्षा प्रणाली सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले कक्षा १२ पछि विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्नसक्ने बनाउनुपर्ने बताउनुभयो । परीक्षा बोर्डले विद्यार्थी र शिक्षकको ग्रेडिङ मात्रै मापन गर्ने नभइ विद्यालयकै स्तर मापन गरिरहेको र सुधारका लागि योजना बनाउने काममा लागेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू