अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

निहारिका राजपुतद्वारा राष्ट्रपति भवन अगाडि आत्मदाह प्रयास, प्रहरीले जाेगाएर अस्पताल पुर्‍यायाे

बिआरटीनेपाल २०७९ साउन २७ गते ८:२३ मा प्रकाशित

न्याय माग्दै आमरण अनशनमा रहेकी निहारिका राजपुतले राष्ट्रपति भवन शीतल निवास अगाडि आफैँलाई जलाउन खोजेपछि प्रहरीले रोकेर अस्पताल लगेको छ ।अनशनमा बसेको व्यक्ति राष्ट्रपति भवन शीतल निवास अगाडि निषेधित क्षेत्रमा पुगेपछि रोकेर उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिनुभयो । शीतल निवास अगाडि पुगेकी निहारिकाले शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाउन खोज्दा प्रहरीले रोकेर पक्राउ गरेको थियो । प्रवक्ता मैनालीले भने पक्राउ गरेको नभइ निषेधित क्षेत्र तोड्न खोज्ने व्यक्तिलाई रोकेर अस्पताल लगेको बताउनुभयो ।

निहारिकाले गएको २० गतेदेखि आमरण अनशन सुरु गर्नुभएको हो । वसन्तपुर डबलीमा अनशन बसिरहेकी निहारिकाले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको प्रयास गरेको बताउनुभएको उहाँका सहयोगीहरूले बताएका छन् । जनकपुरका एक युवकले आफूलाई बलात्कार गरी बच्चा जन्मिएको निहारिकाको आरोप छ । उहाँले बच्चाको डीएनए टेस्ट म्याच गराउन र आरोपितलाई पक्राउ गर्न माग राख्नुभएको छ । यसअघि आरोपितलाई जिल्ला अदालत धनुषाले उनीहरूबीच सहमतिमै सम्बन्ध रहेको भन्दै सफाइ दिएको थियो । त्यसविरुद्ध निहारिकाले जनकपुर उच्च अदालतमा पुनरावेदन गर्नुभएकोमा त्याे मुद्दाको पेसी सरेको सर्‍यै छ । निहारिकाले चाँडो आफ्नो मुद्दा किनारा लगाउन माग गर्नुभएको छ ।

यसअघि गएको जेठमा पनि निहारिका आमरण अनशन बस्नुभएकोमा सरकारी पक्षसँग पाँच बुँदे सहमति पछि अनशन तोड्नुभएको थियो । तर आफूसँग सरकारले गरेको कुनै पनि सहमति कार्यान्वयन नभएको निहारिकाको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू