अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६ | Colorodo: 11:51

संविधानको माग परिपूर्ति गर्नुपर्ने भएकाले महिलालाई समानुपातिकमा अवसर दिइयो : उपसभामुख भुसाल

बिआरटीनेपाल २०७९ साउन २७ गते ७:५८ मा प्रकाशित
आगामी प्रदेश र संघको निर्वाचनमा महिलालाई प्रत्यक्षबाट बढी उम्मेदवार बनाउन हरेक राजनीतिक दलहरुको भुमिका महत्वपूर्ण भएको बताएका छन् ।आगामी प्रदेश र संघको निर्वाचनमा सदस्यको निर्वाचनमा समावेशी सिद्धान्तको आधारमा समानुपातिक सहभागिता गराउनुपर्नेमा महिला नेतृहरुले जोड दिएका हुन् । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सदस्यको निर्वाचनमा उम्मेदवारी दिँदा महिलालाई समानुपातिक सहभागिता गराउनुपर्नेमा उनीहरुले जोड छ । पछिल्ला निर्वाचनमा प्रत्यक्षतर्फ महिला सांसद चुनिन नसक्नु राजनीतिक दलहरुले महिलाप्रति विश्वास गर्न नसक्नुको परिणाम भएको महिला सांसदहरु बताउँछन् ।

प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवारलाई बढी अवसर दिनुपर्ने र जित सुनिश्चितताका लागि पनि राजनीतिक दलहरुले आफ्नो भुमिका खेल्नुपर्ने उनीहरुको भनाइ छ । महिला नेतृहरुले गत स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाँदा महिला सहभागिता कम देखिएको भन्दै प्रत्यक्ष निर्वाचन प्रणालीमा भने हरेक पार्टीहरुले महिललाई अघि सारेर जानुपर्ने बताए । महिलालाई प्रत्यक्षतर्फ प्रतिष्पर्धा गराएर पुरुषलाई समानुपातिकतर्फ ल्याउनुपर्नु उनीहरुको माग छ ।

उनीहरुले हरेक निर्वाचनमा हिलाहरुको निर्वाचित संख्या घट्दै गएकोले महिलाहरुको लागि राजनीतिक दलहरुले एक आपसमा समझदारी गरेर महिला नेतृ उठेको स्थानमा महिला नेतृलाई नै उठाउनुपर्ने माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले संविधानको माग परिपूर्ति गर्नुपरेका कारण मात्रै महिलालाई समानुपातिक निर्वाचन प्रणालीमार्फत अवसर दिइएको बताउनुभयो ।

उहाँले अझैपनि राजनीतिक दलहरुले प्रत्यक्षमा महिलालाई विश्वास गरेर उम्मेदवार बनाउन नसकेको गुनासो गर्नुभयो । उहाँले महिलालाई समानुपातिक नभइ प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवार बनाउन र जित सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभयो । उपसभामुख भुसालले प्रत्यक्षबाट महिलाको उम्मेदवारी सबैभन्दा बढी दिएर महिला निर्वाचित गराएमात्र समानुपातिक निर्वाचन प्रणालीबाट महिलाको संख्या घट्ने बताउनुभयो ।

उहाँले समाजको मनोवैज्ञानिक दृष्टिकोणलाई परिवर्तन गर्नको लागि पनि प्रत्यक्ष निर्वाचनबाट महिलाहरु जान जरुरी रहेको बताउनुभयो । उहाँले अहिले एकीकृत निर्वाचनको विधेयक तयार भइरहेको र अर्को निर्वाचनसम्म विधेयकको काम पूर्ण हुने बताउनुभयो । दलभित्रका महिला नेतृत्वहरुले महिला उम्मेदवारीको मुद्दालाई साझा मुद्दा बनाएर आफ्नो दल, आफ्नो निर्वाचन क्षेत्रभित्र उम्मेदवारी लिनको लागि आफ्नो भुमिकालाई परिवर्तन गर्न जरुरी रहेको पनि बताउनुभयो ।

उहाँले उम्मेदवारी दिनेकुरा नभइ लिनेकुरा भएकोले महिला नै यसमा सक्रिय बन्नुपर्ने बताउनुभयो । उपसभामुख भुसालले महिलाले कुनै भयको जोखिम नलिइकन निर्वाचन लड्ने वातावरण तयार गर्ने जिम्मेवारी पनि महिला नेतृकै काँधमा रहेको बताउनुभयो । उहाँले उम्मेदवारीपछि विजय हुनको लागि पनि रणनीति बनाएर अघि बढ्नको लागि समय पर्याप्त रहेको बताउनुभयो ।

उपसभामुख भुसालले महिलाले प्रतिष्पर्धामा जान आफूलाई तयार गर्नुपर्ने भन्दै अहिलेको समयमा प्रतिष्पर्धा कोसँग गर्ने भन्नेकुरा दोस्रो भएकोले प्रतिष्पर्धामा उत्रिन आफ्नो भुमिकालाई परिवर्तन गर्ने र सशक्त ढंगबाट अघि बढाउने कुरालाई नै प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू