अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२६ | Colorodo: 03:41

नर्भिक अस्पताल संरचना प्रकरण : प्राविधिकसहितको अध्ययन समिति गठन गर्ने सहमति

बिआरटीनेपाल २०७९ साउन २४ गते ७:४७ मा प्रकाशित

नर्भिक अस्पतालले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिक सहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ ।महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिए पनि तत्काल अल्टिमेटम अनुसार संरचना नभत्काउने भएको हो ।

मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरूको सुझावअनुसार ३० देखि ३५ दिनमा संरचना व्यवस्थान गर्नुपर्ने बताउनुभयो ।मेयर साहले सार्वजनिक जग्गा मिच्ने, फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानून बराबर लाग्ने बताउनुभयो ।

अस्पतालले सरकारसँग जग्गा लिजमा लिएको विषयमा आफूहरूलाई समस्या नभएको भन्दै उहाँले मन्त्रिपरिषद्ले निर्णय गरेर अझै दिए पनि केही फरक नपर्ने बताउनुभयो ।अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले सरकारसँग भएको जग्गा लिजको सम्झौताको पूर्ण रूपमा पालना गरेको दाबी गर्नुभयो । उहाँले अझै अस्पतालसँग सम्झौता अनुसार ८ वर्ष बाँकी रहेको बताउनुभयो ।

नर्भिक अस्पतालले आफूले कानूनअनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताएको छ ।अस्पताल र महानगरबीच समिति बनाउने र उसकै सिफारिस अनुसार अघि बढ्ने सहमति भएको छ । नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्शा पास नगरी घर टहरा बनाएको महानगरको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू