अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

नवौँ राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै हुन्छ : घिसिङ

बिआरटीनेपाल २०७९ साउन २३ गते ७:२२ मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद निर्धारित मिति नै हुने बताउनुभएकाे छ । पोखरा रङ्गशालामा आज सोमवार आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव घिसिङले नवौँ खेलकुदको मिति बारम्बार परिर्वनत भए पनि यस पटक भने तोकिएकै मितिमा हुने बताउनुभयाे । उहाँले प्रदेश र प्रतिनिधि सभा चुनावकाे मिति घोषणा गरेसँगै नवौँ खेलकुद निर्धारित मितिमा नहुने शङ्का बढे पनि असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्मकै मितिमा हुने बताउनुभयाे । चुनावले प्रतियाेगितालाई र प्रतियोगिताले चुनावलाई कुनै अप्ठेरो नपार्ने उहाँकाे भनाइ छ ।

सदस्य सचिव घिसिङले प्रदेश तथा विभागीय टिमले भदौ १५ गतेसम्म खेलाडीको सङ्ख्या र २५ गतेसम्म नाम दर्ता गराइ सक्नुपर्ने बताउनुभयाे । प्रतियोगितामा दुई खेलको प्रदर्शनीसमेत हुनेछ । सात प्रदेशसहित तीन विभागीय टिम र एनआरएनए गरी ११ टिमले प्रतियोगितामा सहभागिता जनाउने उहाँले बताउनुभयाे । प्रत्येक टिमबाट तीन सय ३९ महिला र तीन सय ६९ पुरुष खेलाडीको कोटा निर्धारण गरिएको उहाँको भनाइ छ ।प्रतियोगितामा ३६ खेलमा चार सय सात इभेन्ट समावेश गरिएको छ । पुरुषतर्फ दुई सय २० र महिलातर्फ एक सय ८७ इभेन्ट समावेश छन् । प्रत्येक इभेन्टमा चारभन्दा कम प्रतिस्पर्धी भएमा त्याे इभेन्ट सञ्चालन नगरिने सदस्य सचिव घिसिङले बताउनुभयाे ।

हरेक खेलमा स्वर्ण पदक जित्ने खेलाडीलाई २५ हजार र टिम इभेन्टमा स्वर्ण पदक जित्ने खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । खेलकुदमा राष्ट्रिय रेकर्ड भङ्ग गरी नयाँ रेकर्ड बनाउने खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने व्यवस्था यस पटकबाट गरेको उहाँले बताउनुभयाे । प्रतियोगिताको विजेता टोलीलाई १० लाख रुपैयाँको आकर्षक ट्रफी प्रदान गर्ने भन्दै अहिले ट्रफी निमार्णको काम भइरहेको घिसिङले बताउनुभयाे ।

प्रतियोगिताका खेल गण्डकी प्रदेशको सबै जिल्लामा हुनेछ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले प्रत्येक जिल्लामा कम्तीमा एक खेल गर्ने गरी प्रस्ताव राष्ट्रिय खेलकुद परिषद्लाई प्रस्ताव पठाएको छ । राखेपले खेलमैदानको निरीक्षण गरी कहाँ कुन खेल गराउने भन्ने निर्णय गर्नेछ । गण्डकी प्रदेशमा ३९ वर्षपछि राष्ट्रिय खेलकुद हुन लागेको हो । यसअघि दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू