अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५० | Colorodo: 19:05

चीनले ताइवान नजिक सैन्य अभ्यास जारी राख्ने

बिआरटीनेपाल २०७९ साउन २३ गते ७:२१ मा प्रकाशित

चिनियाँ सेनाले ताइवान नजिकै पनडुब्बी र हवाईजहाज प्रतिरोधी विभिन्न किसिमका अभ्यास जारी राख्ने जनाएको छ।  चिनियाँ जनमुक्ति सेना (पीएलए) ले अगस्ट ४ देखि ७ सम्म टापु वरपरका ६ ठाउँमा संयुक्त अभ्यास गरिरहेको बताइएको छ ।अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबाट रिसाएकाे चीनले यस क्षेत्रमा विभिन्न किसिमका सैन्य अभ्यास गरिरहेको छ । पछिल्लो समय एक सयभन्दा बढी चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतले ताइवान वरपर लाइभ–फायर सैन्य अभ्यास गरिरहेका छन् । योसँगै ताइवान स्ट्रेट वरपर थुप्रै चिनियाँ विमान र जहाज विभिन्न किसिमका युद्धकलाको अभ्यास जस्तो देखिने प्रदर्शनीहरू गरिरहेका छन् ।

केही विमानले चीन र ताइवानबीचको सीमा रेखाजस्तो प्रतित हुने मध्य रेखा पनि पार गरेका छन् । चीनले ताइवानलाई  विदेशी सरकारहरूसँग आफ्नो छुट्टै सम्पर्क राख्ने  कुराको विरोध गरिरहेको छ तर सभामुख  पेलोसीको भ्रमणपछि भने कडा प्रतिक्रियाहरू विभिन्न तहमा सार्वजनिक गर्दै आएको छ ।

यसैबीच संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जापानलगायत धेरै देशले चीनले ब्यालेस्टिक मिसाइल प्रक्षेपणको निन्दा गर्दै चीनलाई तत्काल सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका छन् । उनीहरूले ताइवान स्ट्रेटमा शान्ति र स्थायित्व कायम गर्न आफ्नो प्रतिबद्धतासमेत दोहोर्‍याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू