अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२१ | Colorodo: 18:36

नागरिकता विधेयक फिर्ता गर्न राष्ट्रपति भण्डारीलाई आग्रह, बुझाइयो ज्ञापनपत्र

बिआरटीनेपाल २०७९ साउन २२ गते ८:१३ मा प्रकाशित

नागरिकता अध्ययन कार्यदलले गत साउन १५ गते संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्न आग्रह गर्दै राष्ट्रपति भण्डारीलाई अनुरोधपत्र बुझाइएको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै अध्ययन कार्यदलका सह–संयोजक नारायण शर्माले नागरिकता विधेयकलाई चरम राष्ट्रघाती विधेयकको संज्ञा दिनुभयो । यो विधेयकले देशको अस्तित्व नै खतरामा जाने उनको भनाइ थियो । देशभक्त नागरिकको हैसियतले आफुहरुले यो विधेयकविरुद्ध अभियान नै चलाएको उहाँले स्पष्ट पार्नुभयो ।

अध्ययन कार्यदलले नेपालको जन्मसिद्ध बाबु–आमाले नागरिकता प्राप्त गरिसकेपछि मात्र नेपालमा जन्म भई नेपालमा नै स्थायी बसोबास गरेका सन्तानहरुले मात्र नागरिकता पाउने हक हुने जनाएको छ । हकै नभएकाले पनि नागरिकता पाउने गरी ल्याइएको विधेयक राष्ट्रघाती भएको कार्यदलको ठहर छ ।कार्यक्रममा बोल्दै नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले नागरिकता विधेयक अहिलेको राज्य व्यवस्था विपरित भएको टिप्पणी गर्नुभयो । चुनावको लागि नागरिकता विधेयकलाई फास्ट–ट्रयाकमा लगेर पारित गरिएको उहाँको भनाई थियो ।

देशभक्त नागरिक समाजका गोविन्द बोहोराले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मदन भण्डारीको उद्देश्य र भावनालाई स्मरण गर्न आग्रह गर्दै नागरिकता विधेयक फिर्ता गर्न आग्रह गर्नुभयो । देशमा यसअघि धेरै राष्ट्रघाती सन्धिहरु भइसकेको उहाँको भनाइ थियो । सो क्रममा पुष्पलाल समाजका सचिव मुकुन्द आचार्य, नेकपा मार्क्सवादी पुष्पलालका महासचिव मानध्वज गुरुङ, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले पनि नागरिकता विधेयकको विरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू