अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 16:29

चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास गरेकोप्रति अमेरिकाद्वारा आलोचना

बिआरटीनेपाल २०७९ साउन २२ गते ७:५३ मा प्रकाशित

चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास गरेकोप्रति अमेरिकाले चर्को आलोचना गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक प्रवक्ताले अनावश्यक सैन्य गतिविधि गरेर चीनले तनाव बढाएको आरोप लगाउँदै यस्तो कार्य रोक्न आग्रह गरेका बीबीसीले जनाएको छ ।चीनले अहिले गरेका गतिविधि उत्तेजनापूर्ण र अनुत्तरदायी रहेको ह्वाइट हाउसको भनाइ छ । चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास थालेको आज आइतवार चौथो दिन हो ।

अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवानको भ्रमण गरेपछि अमेरिका र चीनबीच तनाव चुलिएको छ । पलोसीको भ्रमणलाई चीनले ताइवानमाथिको आफ्नो स्वामित्व रहेको दाबीलाई चुनौती दिइएको ठानेको छ । चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्त भन्दै कुनै समय नियन्त्रणमा लिने बताइरहेको छ । ताइवान भने आफूलाई छुट्टै राज्य मान्छ ।

चिनियाँ जहाज र विमानहरूले मध्यवर्ती रेखा नाघेर विभिन्न गतिविधि गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । ताइवानी सेनाले चीनले आफूमाथि आक्रमण गर्न त्यसरी अभ्यास गरेको बताएको छ । चीनले आफ्नो सैन्य अभ्यासबारे टिप्पणी गरिसकेको छैन । पलोसीको भ्रमणबाट रिसाएको चीनले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्ता र अन्तर्राष्ट्रिय अपराध नियन्त्रणको प्रयासजस्ता केही महत्त्वपूर्ण विषयमा सहकार्य स्थगित गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू