अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

प्रधानमन्त्रीसँग लाेसपाका नेताहरूकाे भेट, चुनावमा तालमेल गर्नेबारे सकारात्मक कुराकानी : महताे

बिआरटीनेपाल २०७९ साउन २२ गते ७:४१ मा प्रकाशित

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले आउँदो आम चुनावमा तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार भएको छलफलमा आफ्ना माग पूरा गर्न र चुनावमा गठबन्धन गरेर जाने विषयमा सकारात्मक कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिनुभयो । ‘नागरिकतासम्बन्धी ऐन पारित गरी कार्यान्वयन गर्न र निर्दोष कार्यकर्ताको रिहाइ गर्ने विषयमा सकारात्मक छलफल भयो, प्रधानमन्त्रीज्यू पनि हाम्रा माग सम्बोधनका विषयमा सकारात्मक हुनुहुन्छ’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले नागरिकतासम्बन्धी विधेयक पारित भइसकेको र लोसपाका कार्यकर्ताहरूको रिहाइको मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढिसकेको जानकारी गराउँदै लोसपासँग सहकार्यका लागि सकारात्मक हुनुभएको नेता महतोले जानकारी दिनुभयो । नेता महतोले पाँच दलीय गठबन्धनमा लोसपा पनि सहभागी हुने तथा सरकारमा सहभागी हुने विषयमा पनि सकारात्मक कुराकानी भएको बताउनुभयो ।

भेटवार्तामा प्रधानमन्त्रीसहित सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्णलगायतको सहभागिता थियो । चुनावमा तालमेलका लागि प्रधानमन्त्री देउवासँग यसअघि पनि लोसपाले विभिन्न चरणमा छलफल गर्दै आएको छ । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भइ राष्ट्रपतिसमक्ष पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू