अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४६ | Colorodo: 11:01

सप्तकोशीमा ‘हाई-अलर्ट’ जारी

बिआरटीनेपाल २०७९ साउन २१ गते ७:२५ मा प्रकाशित

सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च शतर्कता अर्थात् ‘हाई-अलर्ट’ अपनाएको छ ।पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा शतर्कता बढाएको जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै स्रोत-साधन तयारी अवस्थामा राखिएको बताउनु भयो । प्रजिअ यादवले नदीको वराहक्षेत्रको मापनमा पानीको बहाव उच्च देखिएकाले आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै ‘हाई-अलर्ट’मा सबै संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

वराहक्षेत्रको बहाव चतरा मापनमा आइपुग्दा शतर्कता तह पार गर्ने सम्भावना देखिएकालेसमेत तटीय क्षेत्रसहित आसपासमा सावधानी बढाइएको उहाँले बताउनु भयो । प्रजिअ यादवले त्याे बहाव कोशी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्यूसेकको हाराहारीमा पुग्नसक्ने देखिएकाले ब्यारेजमा समेत शतर्कता बढाइएकोे बताउनु भयो । यसैबीच कोशीको बाढीलाई मध्यनजर गर्दै सप्तरीतर्फ समेत प्रशासनले ‘हाई-अलर्ट’ जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले कोशी आसपासको क्षेत्रमा ‘हाई-अलर्ट’ जारी गरिएको बताउनु भयो ।

कोशी ब्यारेजले ९ लाख क्यूसेक बहाव धान्नसक्ने बताइएपनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्यूसेक माथिको बहावलाई प्राविधिकहरुले सम्भावित जोखिमका रुपमा लिने गरेका छन् । सुनसरी र सप्तरी प्रशासनले नदीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू